खुम्बु क्षेत्रका होटल र लज भरिँदा पर्यटकदेखि भरियासम्मले बस्ने ठाउँ नपाएर सास्ती

Advertisement

काठमाडौं । वसन्त ऋतृ सुरु भएसँगै खुम्बु क्षेत्रमा यस बर्ष पर्यटक धेरै हुँदा बस्ने ठाउँको अभाव भएको छ । पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटक धेरै हुँदा यस पटक खुम्बु गाउँपालिका क्षेत्रका होटल लजहरु भरीभराउ भई बस्ने ठाउँको अभाव भएको हो । 

विशेषगरी लोबुचे र गोरक्षेप क्षेत्रमा पर्यटकहरुको लागि बस्न ठाउँ अभाव भएको आन्तरिक तथा विदेशी पर्यटकहरुको गुनासो छ । हरेक बर्ष वसन्त ऋणमा हिमाल आरोहण र पदयात्राका लागि जानेहरुका कारण खुम्बु क्षेत्रमा चहलपहल बढी हुने गरे पनि कोरोना महामारीका कारण अघिल्ला दुई–तीन बर्षमा कम पर्यटक गएका थिए । यस बर्ष भने विगतका बर्षहरुमा भन्दा निकै धेरै पर्यटक खुम्बु क्षेत्रमा पुगेको पर्यटन व्यवसायीहरुको भनाई छ । 

Advertisement

पर्यटकहरुसँग गाइड र सामान बोकेर जाने भरियासमेत हुने गर्छन् । भरियाहरुले बढी खाने बस्ने ठाउँको समस्या झेल्नुपरेको छ । बस्नका लागि ठाउँ नहुने र भरिया भनेर खाने कुरामा फरक गरिने, गुणस्तरीय नहुने भएकाले आफूहरुलाई गाह्रो हुने गरेको एक भरियाले कपोरेट नेपालसँग बताए । उनले सगरमाथा आधार शिविर जाने बाटोमा होटल, लजहरु रहे पनि लोबुचे र गोरक्षेप क्षेत्रमा ठाउँको अभाव रहेको बताए । पोटर (भरिया) हाउसमा मान्छे नअटेर तीन–चार घण्डा हिडे्र तल्ल आएर बास बस्नुपर्ने अवस्था रहेको ती भरियाले बताए । 

सगरमाथा आधार शिविर पदयात्रामा जार्दै गरेका एक पदयात्री बिनोद राईले लोबुचे र गोरक्षेप क्षेत्रमा सिमित होटल र लज हुँदा पर्यटक र पथप्रदर्शक भान्सा कोठा मै रात बिताउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘हामी आन्तरिक पर्यटकहरुले त यो समस्यालाई बुझेर मिलाएर बस्छौं । तर विदेशी पर्यटकहरुको लागि कमसेकम बस्ने ठाउँको व्यवस्थापन गर्नु पर्ने हो ।’

त्यस्तै, विदेशी तथा आन्तरिक पर्यटकहरु लिएर सगरमाथा आधार शिविर गइरहेकी एक महिला गाइडले लोबुचे र गोरक्षेप क्षेत्रमा पर्यटकहरु साथै भरियाले सास्ती भोग्नुपरेको बताइन् । रात बिताउने ठाउँ नभएर भरियाहरु त्यहाँबाट घण्टौंको बाटो तल झरेर बास बस्न जानुपर्ने र बिहान फेरि ६ बजे नै माथि आइपुग्नुपर्ने बाध्यता छ । सिजनमा पर्यटकहरु धेरै आउँछन् । यसरी बास बस्न पनि ठाउँ पाएन भने त पर्यटकहरुलाई गाह्रो हुन्छ ।’ 

होटल एशोसियशन नाम्चेका सल्लाहकार लामाकाजी शेर्पाका अनुसार लोबुचे र गोरक्षेप क्षेत्रमा करिब ३० वटा जति होटल छ । सगरमाथा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकारी मनोज मण्डलले गत साउनदेखि चैत महिनासम्म ३८ हजार विदेशी तथा आन्तरिक पर्यटकहरु सो क्षेत्रबाट यात्रा गरेको जानकारी दिए । 

Advertisement

Advertisement