उत्पादन लागत महँगो हुँदा विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न गाह्रोः उद्योगीहरु
फाइल तस्बिर

Advertisement

काठमाडौं । नेपालमा व्यवसायिक लागत महँगो हुँदा यहाँका वस्तु तथा सेवाले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको निजी क्षेत्रले धारणा राखेको छ ।

बैंक तथा वित्तीय संस्था परिसङ्घ, नेपाल (सिबिफिन)ले आज काठमाडौँमा आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०२३ मा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणा र नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले व्यावसायिक लागत बढी हुँदा नेपालका वस्तु तथा सेवाले त्यस्तै प्रकृतिका विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसकेको धारणा राखेका हुन् । 

Advertisement

“यहाँ उत्पादन लागत निकै छ । जसकारण नेपालले विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न सक्दैन । सरकारी नीति प्रभावकारी नहुँदा उत्पादनसँग जोडिएका साना र मझौला उद्योग झनझन समस्यामा पर्दै जान थालेका छन्”, पूर्वअध्यक्ष राणाले भनिन् । 

परिसंघका पूर्वअध्यक्ष शर्माले पनि नेपाली उत्पादन विदेशी वस्तु तथा सेवासँग प्रतिस्पर्धा गर्न नसकेका कारण यहाँका उत्पादन धराशायी हुँदै जान थालेको बताए । महँगो ब्याजदर, महँगो कच्चा पदार्थ तथा ढुवानी लागतलगायत कारण नेपाली वस्तुको उत्पादन लागत बढी छ ।

मुलुकको अर्थतन्त्रमा अहिले देखिएको समस्या अर्थराजनीतिक रुपमा सम्बोधन गरिनुपर्ने पूर्वअध्यक्ष राणाको भनाइ छ । “राजनीतिज्ञले पनि अर्थतन्त्रबारे सोच्नुपर्छ । अर्थराजनीतिक तवरले जान नसक्ने हो भने हाम्रा समस्या घट्न सक्दैनन्”, उनले भने । त्यस्तै नेपालले तुलनात्मक लाभका वस्तु पहिचान गरेर बजारीकरणमा ध्यान दिनुपर्ने राणाको भनाइ छ ।

उत्पादनमूलक उद्योग र व्यापारका लागि फरकफरक ब्याजदर निर्धारण गरिनुपर्ने राणाले बताए । सम्मेलनमा परिसंघका पूर्वअध्यक्ष शर्माले नेपालमा सामाजिक सुरक्षाको दायित्व बढ्दै जानु चिन्ताको विषय रहेको उल्लेख गरे । 

Advertisement

Advertisement