बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेपनि अन्य देशको तुलनामा निकै सहज छः गभर्नर

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले मौद्रिक नीति बनाउँदा क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन् । 

आईतवार काठमाडौंमा बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको भन्दै क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका हुन् । उनले अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग सरकार र निजी क्षेत्रको समेत धेरै अपेक्षा गरिएको बताए । 

Advertisement

उनले मौद्रिक नीतिका आफ्नै सीमा रहेको भन्दै राष्ट्र बैंकले सीमा भन्दा बाहिर गएर केही गर्नसक्ने अवस्था नभएको बताए । गभर्नर अधिकारीले राष्ट्रले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यो भने समग्र वित्तीय प्रणाली संकटमा पर्नसक्ने उल्लेख गरे । 

उनले मौद्रिक नीतिका सम्बन्धमा वित्तीय प्रणालीका हीतमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गर्ने बताए । गभर्नर अधिकारीले आफ्ना स्वार्थका विषय सम्बोधन नहुँदैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न नमिल्ने बताए । 

राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुवैको हीतमा आवश्यक नीतिगत निर्णय गरिरहेको दाबी गरे । 

गभर्नर अधिकारीले नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कारण कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको बताए । बैंक, व्यवसायी लगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको उल्लेख गरे । अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढेपनि अन्य देशको तुलनामा निकै सहज भएको पनि बताए । 

राष्ट्र बैंकले मौद्रिक नीतिका त्रैमासिक समीक्षा वैशाख महिनाको अन्तिमसम्म गरिसक्ने तयारी गरिरहेको बताए । 

Advertisement

Advertisement