राष्ट्रिय वाणिज्य बैंकद्धारा उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई पुरस्कार प्रदान

Advertisement

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा गत माघ १० गते घोषणा गरिएका आव २०७७/०७८ र २०७८/०७९ मा उत्कृष्ट कार्य सम्पादन गर्ने बैंकका शाखा कार्यालयहरु तथा कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा. बलराम पाठकले पुरस्कार वितरण गरेका हुन् ।  

सर्वोत्कृष्ट बैंक पुरस्कार आव २०७८/०७९ को मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे र आव २०७७/०७८ को ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज वस्नेतलाई जनही नगद रु ५० हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । 

Advertisement

त्यसैगरी उत्कृष्ठ कार्य सम्पादन गरे वापत आव २०७८/०७९ मा अन्य ३३ जना र आव २०७७/०७८ मा अन्य ३३ जना कर्मचारीलाई उत्कृष्ट बैंक सेवा पुरस्कार जनही नगद रु २० हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा शाखा कार्यालयहरुमध्ये सर्वप्रथम हुने आव २०७८/०७९ मा शाखा कार्यालय बिराटनगर र आव २०७७/०७८ शाखा कार्यालय सुर्यविनायकलाई प्रति शाखा नगद  रु ५० हजार सहित प्रमाणपत्र प्रदान गरियो । 

त्यसैगरी अन्य उत्कृष्ट कार्य सम्पादन गर्ने आव २०७८/०७९ मा १७ वटा शाखा र आव २०७७/०७८ मा अन्य १७ वटा शाखा कार्यालयका प्रबन्धकहरुलाई जनही नगद रु १० हजार देखि रु ३० हजार सम्म र प्रमाणपत्र प्रदान गरियो । साथै, कार्यक्रममा कर्मचारीहरुलाई बरिष्ठ बैंकर्स अनिल केशरी शाहबाट ट्रान्सफरमेशनल लिडरशिप विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो ।

उक्त अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष पाठकले उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालयका प्रवन्धकहरुलाई पुरस्कार प्रदान गर्दै बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि र सोचको विकास भैरहेको सन्दर्भमा कर्मचारीहरुले दक्षतापूर्ण रुपले कार्य गर्नुपर्ने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लामो समयदेखि उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेकाले कार्यसम्पादनमा यसको उपलब्धि देखिएको बताए । 

त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु देवेन्द्ररमण खनाल र सरस्वती अधिकारी, उपकार्यकारी अधिकृतहरु विमल डंगोल, पवन रेग्मी र दुर्गाकुमारी कँडेल, रावा बैंक कर्मचारी संघ नेपालका बरिष्ठ उपाध्यक्ष बद्रिप्रसाद तिमिल्सिना, नेपाल वित्तीय संस्था कर्मचारी संघ, रावा बैंकका अध्यक्ष इश्वरबहादुर सिंह, नेपाल राष्ट्रिय कर्मचारी संगठन, रावा बैंकका उपाध्यक्ष जितेन्द्र राई लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख आनन्द सुवेदीले कार्यक्रम सञ्चालन गरेका थिए । 

बैंकले ७७ जिल्लाका सबै सदरमुकाममा सहित २७१ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । 

Advertisement

Advertisement