काठमाडौं । प्रतिकुल स्वास्थ्यका बीच राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
उमेरले ८० बर्ष पुगेका पौडेललाई संसद भवन परिसरमा डोर्याउँदै रोष्टमसम्म पुर्याएका थिए । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गर्दा पनि पौडेल निकै सकसपूर्ण अवस्थामा देखिन्थे ।
विगतमा जस्तो सडक खाली गराएर तामझामपूर्ण सवारीबिना नै साधारण ढंगले संसदमा पुगेका पौडेललाई नीति तथा कार्यक्रम सम्बोधन गर्न पनि कठिनाई भइरहेको देखिन्थ्यो ।
उनी केही समयअघि फोक्सोसम्वन्धी समस्याको उपचारका लागि नयाँ दिल्लीमा उपचार गरेर फर्किएका थिए । स्वास्थ्यकै कारण केही समयदेखि चिकित्सकको निगरानीमा रहेका उनले मानिसहरुसँग निकै कम मात्रै भेटघाट गरिरहेका छन् ।
पौडेल संसदमा पुग्दा सभामुख देवराज घिमिरेलगायतले स्वागत गरेका थिए ।