काठमाडौं। राजस्व अनुसन्धान विभागले एकै ट्रकबाट १२ लाख ८० हजार थप राजस्व असुली गरेको छ । विभागले कवाडी बोकेको एकै ट्रकबाट सो बराबरको राजस्व असुली गरेको हो।
विभागको टोलीले गत बैशाखमा राजस्व छलीको शंकामा एउटा ट्रक नियन्त्रणमा लिएको थियो । टंकेश्वरको देवांशी सप्लायर्सले अवैधरुपमा भारत पठाउन लागेको स्क्रयाब बोकेको ना ६ ख ६३८७ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।
गाडीमा छ हजार किलो सामान भए पनि देवांशी सप्लार्सले दुई हजार किलो सामान मात्रै उल्लेख गरेको थियो । यस्तै, दुई हजार किलो सामग्री पनि प्रतिकिलो पाँच रुपियाँको दरले मात्रै बिल काटिएको भेटिएपछि कर छली गरेको भेटिएको थियो । राजनीतिक दबाबको बीचमा पनि विभागले सप्लायर्सलाई १२ लाख ९० हजार रुपियाँ जरिवाना तोकेको हो।
विभागले कम्पनीलाई अब यस्तो प्रकृतिको छली नगर्न सचेत गराएको छ । यसैगरी, अन्य कम्पनीलाई पनि सोही प्रकृतिको राजस्व छली नगर्न आग्रह गरेको छ । विभागले कम्पनीलाई १२ लाख ९० हजार राजस्व असुल गर्न आन्तरिक राजस्व कार्यालय कालिमाटीलाई भनेको छ ।
विभागमा महानिर्देशकमा नारायण सापकोटा आएपछि राजस्व छलीमा कडाई गर्न सुरु गरेका छन् । उनले चर्को राजनीतिक दबाबका बीचमा पनि कानुनअनुसार जरिवाना लगाईरहेका छन् ।