काठमाडौं । थाइल्याण्डको बहुर्राष्ट्रिय चेन होटल ‘दुसित प्रिन्सेस काठमाडौं’ साउन १ गतेदेखि लाजिम्पाटमा सञ्चालनमा आएको छ ।
पाँच तारे यो होटल दुई दाजुभाईले अढाइ अर्ब रुपियाँ लगानीमा सञ्चालनमा ल्याइएका हुन् । दुसित इन्टरनेसनल, थाइल्यान्डको होटल एण्ड रिसोर्ट व्यवस्थापन कम्पनी हो ।
होटल ल्हासा इन्टरनेसनल समूहले ल्याएको यो तेस्रो होटल हो । यो समूहले यसअघि बौद्धमा होटल तिब्बत इन्टरनेशनल र लाजिम्पाटमा तिब्बत होटल सञ्चालन गर्दै आएको छ । दुसित प्रिन्सेज काठमाडौंका अध्यक्ष तेन्जिन जोपा लामाले अहिले पर्यटकहरुले कुन ब्राण्डको होटर र रिसोर्ट हो ? भनेर सोध्ने गरेकोमा आफूहरुले दुसित ब्राण्डको चेन होटल सञ्चालनमा ल्याएको बताए ।
नेपाल र थाइल्याण्डको आथित्यता मिल्दोजुल्दो भएकाले आफूहरुले थाई ब्राण्डको चेन होटल सुरु गरेको बताए
। लामाले भने, ‘ग्राहकहरुलाई गर्ने सत्कारहरु पनि मिल्ने भएकाले हामीले थाईसँग सहकार्य गरेको हो ।’ दुसित होटलमा अहिले १५० जना छन् । उनले थपे, ‘अहिले मान्छेहरुलाई ब्रान्ड चाहियो । अझ सेभेन स्टार चाहियो । चेन चाहियो । त्यही अनुसारको सुविधा चाँहियो ।’
थाई टिमले नेपालमा आएर तालिम दिएर गइसकेको छ । दुसित प्रिन्सेजमा बुकिङ र इन्क्वायरीहरु पनि राम्रो आइरहेको लामो बताए । होटलमा थाई सेफ छन् । होटलमा लुम्बिनी–१, लुम्बिनी–२ र प्रिन्सेज गरी तीन वटा हल छन् । यी होटल पाँचतारे होटलहरुमा रहेकामध्ये सबैभन्दा ठूलो हल भएको लामो दावी छ । भाइ दोर्जे लामासँग मिलेर उनले होटल निर्माण गरेका हुन् ।
दुसित इन्टरनेसनलकी प्रमुख कार्यकारी अधिकृत सुफाजी सुथुमपुनले नेपालमा चेन होटल खोल्न पाउँदा खुशी लागेको बताउँदै यस सहकार्यले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइन् ।
होटलमा १०७ कोठाहरु छन् । तीमध्ये सुपेरियर ८२ वटा, डिलक्स १० वटा, एक्जिक्युटिभ ८ वटा, जुनियर सुइट ६ वटा र प्रेसिडेन्सियल सुइट रुम एउटा छन् । होटलको १२ औं तल्लामा पौडी पोखरी छ । फिटनेस सेन्टर, रेष्टुरेण्ट, साउना स्टिम, स्पा लगायत सेवा पनि रहेको लामाले बताए ।