काठमाडौं । हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने सरकारको निर्णयविरुद्ध पर्यटन व्यवसाय सर्वोच्च अदालत गएका छनन् ।
हवाई टिकटमा भ्याट लगाउँदा पर्यटन व्यवसायमा नकारात्मक असर पर्ने भन्दै नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले बिहीबार सरकारविरुद्ध सर्वोच्च अदालत मुद्दा दायर गरेको हो । हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णयको यसअघि वायुसेवा सञ्चालकहरुले पनि विरोध जनाएका थिए ।
नाट्टाका अध्यक्ष रमेश थापाले हवाई टिकटमा भ्याट लगाउँदा चलायनमान हुन लागेको पर्यटन व्यवसायमा गम्भीर असर पर्ने भएकाले आफूहरु अदालत जानुपरेको बताए । उनले बुधबार नै मुद्दा दायर गर्ने तयारी भए पनि दर्ता गर्न नभ्याएकाले आज दर्ता गरेको बताए ।
थापाले हवाई यातायात सेवा र यसको कारोबारको प्रकृति अरु सेवा भन्दा फरक भएकाले भ्याट कार्यान्वयन सहज नरहेको बताए । उनले आन्तरिक राजश्व विभागद्वारा जारी सूचना अस्पष्ट भएको, अध्ययन नगरी हचुवाका भरमा भ्याट लागू गरिएको बताउँदै टुर प्याकेजमा पाँच प्रतिशत शुल्क लगाउने कुरामा भने आफूहरुको आपत्ति नरहेको बताए ।