काठमाडौं । भौतिक पूर्वाधार क्षेत्रका विज्ञले निर्माणमा जानु पहिले अध्ययनमा बढी जोड दिनुपर्ने सुझाव दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित नेपालमा भविष्यमा कस्तो सडक बनाउने भन्ने छलफलमा उनीहरूले अध्ययनमा लगानी बढाउन सुझाव दिएका हुन् । विज्ञ मेघराज धितालले कुनै पनि आयोजनाको गहिरो अध्ययन गरेर मात्रै निर्माणको काम सुरु गरिनुपर्ने सुझाव दिए । अध्ययन नगरी सुरु गर्दा लागत बढ्ने समयमा नसकिनेजस्ता झन्झट आउने उनको भनाइ थियो । उनले भने, “आयोजनाको विस्तृत अध्ययनका लागि कूल बजेटको दुई प्रतिशत रकम विनियोजित गर्नुपर्दछ ।”
विज्ञ बिबी देउजाले भौतिक पूर्वाधार क्षेत्रलाई सुधार गर्ने र सडकको आयु लम्ब्याउने हो भने राजनीतिक नेतृत्वले गलत काम गर्नेलाई कारबाही गर्नुपर्ने बताउनुभयो । सडकको विषयमा गहिरो अध्ययन गर्न एउटा शक्तिशाली समिति गठन गर्नुपर्नेमा उनको जोड छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भौतिक पूर्वाधारका विज्ञ टोलीसँग विषयगत छलफल सुरु गरेका हुन् । सडक गाउँबस्तीमा पुर्याउनुपर्ने भए पनि धेरै गाउँबस्ती चुरे र महाभारत शृङ्खलामा रहेको उनले बताए । उनले भने, “ती ठाउँसम्म सडक विस्तार गर्न र विस्तार गरिएका सडकको सुरक्षा गर्न चुनौती रहेको छ ।”
अहिले सञ्चालनमा रहेका सडकको सुरक्षा र भावी बन्ने सडकका विषयमा केन्द्रित भएर छलफल सुरु गरिएको मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए ।
नेपालमा विगत र वर्तमानका सडकको अवस्था, त्यसको भूबनोट र भविष्यमा कस्ता स्थानमा बनाउँदा सडकको सुरक्षा हुनसक्छ भन्ने विषयमा छलफल सुरु गरिएको हो । मन्त्री ज्वालाले भौगोलिक विकटताले सडक निर्माण र सडक सुरक्षामा थपेका चुनौतीलाई कसरी हल गर्ने भन्ने विषयमा विज्ञ टोलीसँग राय सल्लाह मागेका हुन् ।
विज्ञहरूले खर्चिलो भए पनि नेपालको भूगोलअनुसार सुरुङमार्गमा जान सुझाव दिए । सडक बनाए पनि बाढी पहिरोले सडकको आयु छोटो हुने गरेको उनीहरूको भनाइ थियो । त्यो समस्या हल गर्न सुरुङमार्गमा जान सञ्चालनमा रहेका सडकको तत्काल अध्ययन थाल्न उनीहरूले सुझाव दिए ।