कांग्रेसका मन्त्री र साँसदबीचको झगडा चर्कियो, पाण्डेले दिए संसदीय दलमा उजुरी (पत्रसहित)

Advertisement

काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री भएका बद्री पाण्डे र सोही पार्टीका साँसद राजेन्द्र बजगाइँबीचको झगडा चर्किएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका पाण्डेले बजगाइँविरुद्ध आफ्नो पार्टीको अनुसाशन समिति र संसदीय दलमा उजुरी दिएका छन् । 
 
उनले बजगाइँको अमर्यादित गैरकानूनी कार्यमाथि अनुसन्धान गरी हदैसम्मको कारवाहीको माग समेत गरेका छन् । सांसद बजगाइँ व्यवसायीसमेत हुन् । गोरखा–१ बाट चुनाव जितेका बजगाइँले शृङ्खलबद्धरुपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै पाण्डेले उजुरी दिएका हुन् । 

अनुशासन समितिमा बिहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा  बजगाइँले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्धरुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको गुनासो गरेका छन् । 

Advertisement

उजुरीमा भएिको छ, ‘नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। प्रजातन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ ।’

पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै बजगाइँले मंगलबार सामाजिक सञ्जालमा लेखेपछि उनीहरुबीचको विवाद सतहमा आएको हो । त्यसलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए । बजगाइँले पाण्डेविरुद्धका सबै पोस्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए । 

पाण्डेले लिखित उजुरीमा भनेका छन्, ‘मन्त्रीको सपथग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रुपमा मन्त्रालयको कामकारवाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस जस्तो गम्भीर आरोप लगाई, कुप्रचार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैरकानूनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्याएको छ ।’

उजुरीमा थप भनिएको छ, ‘प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुकमार्फत निन्दनीय भाषामा लगाएको आधारहीन फरेवपूर्ण कलुषित तथा गैरकानूनी आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानूनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारवाही गरिदिनु हुन अनुरोध गर्दछु ।’

undefined

Advertisement

Advertisement