काठमाडौं । शेयर बजारका लगानीकर्ताहरु निराश भइरहेका छन् । त्यसकारण यो साता एक अर्बकै हाराहारीमा मात्रै कारोबार भयो ।
यो साता ४ दिन बजार खुल्दा ३ दिन नेप्से ओरालो झर्यो भने सोमबार मात्रै झिनो अंकले सुधार देखियो । सोमबार र मंगलबार एकअर्बभन्दा कम कारोकार भएको थियो ।
केही समययता २ हजार अंककै हाराहारीमा नेप्से रहेको छ । बजार बढेर केही समय २ हजार माथि पुग्ने र केही दिन पछि फेरि घट्न थालेर २ हजारबाट तल ओर्लने क्रम चलिरहेको छ । गत बुधबार बजार घटेर नेप्से परिसूचक १९९०.५९ अंकमा ओर्लिएको छ ।
शेयर लगानीकर्ता तिलक कोइरालाले केही दिन अघि सामाजिक सञ्जालमा लेखेका छन्, ‘कारोबार रकम र मूल्य दुवै दुब्लायो, ठूला र संस्थागत लगानीकर्ता गायब भए ।’
शेयर बजारबारे उनले सामाजिक सञ्जालमै लेखेका छन्, लामो समयका लागि विवेकपूर्ण तवरले आफ्नै पैसा शेयर बजारमा लगानी गर्ने र अवसरको सदुपयोग गर्ने अधिकाँशले कमाएकै हुन्छन्, तर शेयर बजारबाट कमाएर अर्बपति बन्छु भन्दै हौसिएर आउनेहरू ९९ प्रतिशतलले गुमाएर १ प्रतिशतले कमाउने ठाउँ हो पनि शेयर बजार नै हो ।’
त्यस्तै अर्का लगानीकर्ता ताराप्रसाद फुल्लेलले भदौ २ गते लेखेका छन्, ‘२१ अर्ब माथिको कारोबार भई २०७८ भदौ २ गते नेपालको शेयर बजारले ईतिहास रचेको दिन, अर्थतन्त्रका सबै सूचकहरू क्रमशः सुधार हुँदै गएको र तरलताको समेत सहजता देखिन थालेकोले आगामी दिनमा बजारले गति लिई पुरानो उच्च बिन्दुलाई पछाडि पार्दै अगाडि बढ्ने अपेक्षा गर्न सकिन्छ ।’
त्यस्तै पूँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेलले लगानीकर्ता माझ ‘तरबार’ लिएर खनिएको राष्ट्र बैंकप्रति ‘ढाल’ बनेर उभिने कहिले अर्थमन्त्रीज्यू ? भनी प्रश्न गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी छन् ।
आज भन्दा झण्डै २ बर्ष अगाडि शेयर बजारमा २२ अर्बको कारोबार हुन्थ्यो । त्यसबेला झण्डै ३४ लाख डिम्याटधारी लगानीकर्ता थिए । नेप्से ईन्डेक्स ३ हजार माथी थियो । ब्याजदर ८ प्रतिशतको हाराहारी थियो । त्यो आर्थिक बर्ष नेपाल सरकारले कर, कमिशन र अन्य दस्तुर गरी शेयर बजारबाट झण्डै १४ अर्बसम्म आर्जन गरेको थियो । लगानीकर्ताको मुहारमा छुट्टै किसिमको चमक थियो । तर पछिल्लो समय लगानीकर्ताहरु निराश छन् । पोखरले अगाडि लेख्छिन्, ‘अर्थमन्त्रीज्यूले ५८ लाख डिम्याटधारीको ज्यान बचाई दिनको लागी एक पटक ‘ढाल’ बनि खडा भै आम लगानीकर्ताको जीवन रक्षाको खातिर समर्पित भैदिनु हुन यो खुल्ला पत्र मार्फत आव्हान गर्न चाहन्छु । धन्यवाद ।’
यस्तो रह्यो यो साता
साताको पहिलो दिन आईतबार २०.५४ अंकले बजार घट्दा १ अर्ब २६ करोड २७ लाख ६७ हजार ८ सय ७६.५५ रुपियाँ, सोमबार ५.०९ अंकले बजार बढ्दा ९८ करोड ८६ लाख २८ हजार ५ सय ६२.२४ रुपियाँ, मंगलबार ५.०५ अंकले बजार घट्दा ८६ करोड ५१ लाख २० हजार ४ सय ५२.४० रुपियाँ र बुधबार २.८२ अंकले बजार घट्दा १ अर्ब १३ करोड ८ हजार ४१.१५ रुपियाँ बराबरको बराबरको कारोबार भएको थियो । साताको अन्तिम दिन बिहीबार भने जनैपूर्णिमा तथा गाइजात्राको सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो ।