काठमाडौं । देवयानी इन्टरनेशनल नेपाल प्रा. लि.ले पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । यस रेष्टुरेन्टमा काम गर्ने अधिकांश सदस्यहरू विशेष क्षमता भएका व्यक्ति छन् ।
देवयानी इन्टरनेशनल र केएफसी नेपालले यस्ता रेस्टुरेन्टहरू अझै थप गर्ने बताउँदै शनिबार पहिलो रेष्टुरेन्ट कलंकीमा सञ्चालनमा ल्याएको हो । अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस (सेप्टेम्बर २३)को अवसर पारेर यो रेष्टुरेन्ट सञ्चालन गरेको कम्पनीका सञ्चालकहरुको भनाई छ ।
विशेष रूपमा बोल्ने र श्रवणशक्ति नभएका महिला कार्यकर्ताद्वारा सञ्चालित नेपालको पहिलो विशेष केएफसी रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेस्टुरेन्ट व्यवस्थापन गर्न उनीहरुलाई सीप र तालिम प्रदान गरिएको छ ।
केएफसी इन्डिया र नेपालका सीईओ रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहल देवयानी इन्टरनेशनलको लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । उनले लेप्रोसी मिसन नेपालको समर्थनले यो विशेष टोली संयोजन गर्न सकिएको बताए ।
केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको लामो इतिहास छ । यो एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्षभन्दा पहिले रेसिपी बनाएको जनाइन्छ । आज १४५ देशमा २६ हजार केएफसी रेस्टुरेन्ट उनकै मापदण्डमा सञ्चालन हुँदै आएका छन् ।