गैरआवासीय नेपाली संघको अध्यक्षमा बद्री केसी निर्वाचित, तर प्रतिस्पर्धीहरुद्धारा अस्वीकार

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका छन् । तर उनका प्रतिस्पर्धीहरुले निर्वाचन परिणामलाई स्वीकार गर्न आनाकानी गरेका छन् । 

अनलाइनमार्फत गरिएको निर्वाचनमा केसीले सिस्टम ह्याक गरेर आफू विजयी भएको भन्दै अध्यक्षका प्रत्यासीहरु महेश श्रेष्ठ र आरके शर्माले परिणाम स्वीकार गर्न आनाकानी गरेका हुन् । निर्वाचन परिणाम घोषणा भएपछि भाँडभैलो भएको हो ।

Advertisement

अनलाइन भोटिङ प्रणाली केसीले विकास गरेका थिए । महासचिवका एक उम्मेदवार केशव पौडेलको काठमाडौंबाट झरेको मत शून्य देखाइएपछि उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेका हुन् । 

काठमाडौंबाट आठ सयभन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति आक्रोश व्यक्त भएको हो ।

निर्वाचनमा केसीको पक्षमा एक हजार ३७८ मत देखिएको छ भने आरके शर्माको एक हजार २८१ र महेश श्रेष्ठको एक हजार २२५ मत देखिएको छ । जबकी श्रेष्ठलाई अध्यक्षकी अर्की प्रत्यासी रविना थापाले पनि समर्थन जनाएकी थिइन् । शर्माले चुनाव जित्न करोडौं रुपियाँ खर्च गरेका थिए । शर्मा र श्रेष्ठलाई मुख्य प्रतिस्पर्धी ठानिए पनि केसी विजयी भएपछि संघको महाधिवेशनमा भाँडभैलो सिर्जना भएको हो । 

शर्मा र श्रेष्ठ पक्षले नतिजा स्वीकार नगर्ने बताएका छन् । मत परिणाम घोषणापछि बोल्दै श्रेष्ठले भने– यो निर्वाचन रद्द हुनुपर्छ, त्यति मात्र हैन यसमाथि गम्भीर छानबिन र दोषीलाई कडा कारबाही हुनुपर्छ ।’ उनले निर्वाचित भनिएको नयाँ कार्यसमिति भंग गरेर नयाँ निर्वाचन गराउनुपर्ने उनको माग छ । 

अर्का प्रत्यासी आरके शर्माले अब गैरआवासीय नेपाली संघ शून्यमा गएको भन्दै परराष्ट्र मन्त्रालयको हस्तक्षेपपछि मात्र अगाडि बढ्ने बताए । अनलाइन भोटिङ सिस्टम ह्याक गरी मत परिणाम उल्ट्याइएको उनको आरोप छ । 

वैज्ञानिकको रुपमा चिनिएका केसी यसअघि संघको चार जना अध्यक्षमध्ये एक अध्यक्ष थिए । महासचिव हुँदादेखि नै उनलाई सूचनाप्रविधिको दुरुपयोग गरी महाधिवेशन प्रतिनिधिको डाटाबेस र मत परिणाममा चलखेल गरेको आरोप लाग्दै आएको थियो । 

Advertisement