काठमाडौं । बिहीबार दुई कम्पनीको शेयर बाँडफाँट हुने भएको छ । मिर्मिरे लघुवित्तको एफपीओ र चिरख्वा हाइड्रोको आईपीओ एकै दिन बाँडफाँट हुने लागेको हो ।
यसैक्रममा मिर्मिरे लघुवित्त असोज २५ गतेदेखि ३० गतेसम्म निष्काशन खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) बिहीबार बाँडफाँट हुने भएको हो ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
कम्पनीको एफपीओका लागि मा १४ लाख २१ हजार ७ सय ७७ जनाले १ अर्ब ६१ करोड ७४ लाख ५८ हजार रुपियाँ बराबरको १ करोड ६१ लाख ७४ हजार ५ सय ८० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले प्रतिकित्ता रु। १०० मा १ करोड २३ लाख ८१ हजार ६ सय ४५ रुपियाँ बराबरको १ लाख २३ हजार ८ सय १६ कित्ता एफपीओ बिक्री गर्न लागेको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्काशन गरेको हो ।
उक्त कम्पनीको एफपीओ १२ हजार ३ सय ७५ जनाले १०–१० कित्ता र ६ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
यता, चिरख्वा हाइड्रोपावर लिमिटेडले असोज २३ गतेदेखि २६ गतेसम्म निष्काशन खुला गरेको आईपीओ बिहीबार दिउँसो बाँडफाँट हुने भएको छ ।
बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार उक्त दिन दिउँसो १ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
कम्पनीको आईपीओका लागि १२ लाख १२ हजार ६ सय ४५ जनाले १ अर्ब ३१ करोड ९९ लाख २४ हजार रुपियाँ बराबरको १ करोड ३१ लाख ९९ हजार २ सय ४० कित्ताका लागि आवेदन दिएका छन् ।
यसअघि कम्पनीले ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १६ हजार कित्ता सामूहिक लगानी कोष र ४० हजार कित्ता कर्मचारीलाई बाँडफाँट गरिसकेको छ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता निष्काशन गरेकोमा बिक्री नभएको १ लाख ९५ हजार ३ सय कित्ता थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सर्वसाधारणको लागि निष्काशन खुला गरेको थियो ।
सर्वसाधारणका लागि बिक्री गर्न लागिएको आईपीओ ८५ हजार ९ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।
उक्त कम्पनीले भोजपुर जिल्लामा ४.७ मेगावाटको अपर चिरख्वा हाइड्रोपावर आयोजना निर्माण गरिरहेको जनाएको छ ।