काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई प्राप्ति गरे पश्चात कायम भएको हिमालयन क्यापिटल लिमिटेडको एकीकृत कारोबार गत शुक्रबारबाट संचालन भएको छ ।
क्यापिटलका अध्यक्ष सुनिलप्रसाद गोर्खाली र साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष भोला बिष्टले पानसमा दिप प्रज्वलन गरि एकीकृत कारोबार प्रारम्भ भएको घोषणा गरेका हुन् । कम्पनी रजिष्ट्रारको कार्यालय बाट गत १२ मंसिरमा एकीकृत कारोबार संचालन अनुमति प्राप्त गरेको थियो ।
कार्यक्रममा हिमालयन क्यापिटलका अध्यक्ष तथा हिमालयन बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोर्खालीले मर्चेन्ट बैंकिङ व्यवसायमा छोटो समयमा पनि नवीनतम सेवा प्रवाह गर्दै आफ्ना छुट्टै पहिचान स्थापित गरेको कम्पनी र मर्चेन्ट बैंकिङ व्यवसायका आधुनिकीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको सिभिल क्यापिटलको समिश्रणबाट सकारात्मक प्रभाव सिर्जना भई ग्राहकहरुलाई प्रदान गरिने सेवा तथा सुविधाहरु अझ सबल र सुदृढ भई नेपाली पूँजी बजारका बिकासमा टेवा पुग्ने बताए ।
कार्यक्रममा हिमालयन बैंकका सीईओ अशोक समशेर जबरा, बरिष्ठ नायव कार्यकारी अधिकृतहरु, हिमालयन क्यापिटल लिमिटेडका अध्यक्ष तथा संचालकज्यूहरु, साबिकको सिभिल क्यापिटल मार्केट लिमिटेडका अध्यक्ष, संचालकहरु, प्रमुख कार्यकारी अधिकृत, हिमालयन क्यापिटल लिमिटेडका पूर्वसंस्थापक अध्यक्षको साथ बैंकका बरिष्ठ कर्मचारीहरु, क्यापिटलका कर्मचारीहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।