ज्वाइँ ससुराली गएर खाएजस्तो युवाहरु विदेश गएर नेपाल बिर्सिन भएन्ः तिमिल्सिना

Advertisement

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राजनीतिक दलका नेताहरुले मुलुकको समृद्धिका लागि राम्रो काम गर्न नसकेको स्वीकार गरेका छन् । 

नेकपा एमालेको कोटाबाट अध्यक्ष भएका उनले राजनीतिक व्यवस्था परिवर्तनमा ठूलो त्यागसहितको संघर्ष गरेका नेताहरुले मुलुकको समृद्धिका लागि भने राम्रो काम गर्न नसकेको मंगलवार राजधानीमा आयोजित बाल क्लवका पूर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बताएका हुन् । 

Advertisement

तिमिल्सिनाले युवा पुस्तालाई मुलुकको सुशासन र समृद्धिको लागि संघर्ष गर्न पनि आग्रह गरे । युवाहरु विदेश जानै हुन्न भन्ने पक्षमा आफू नरहेको उल्लेख गर्दै उनले त्यहाँको सीप, ज्ञान र अनुभवलाई लिएर राष्ट्र निर्माणका लागि स्वदेशमै फर्कनुपर्ने बताए । 

तिमिल्सिनाले भने, ‘जाने अमेरिका, बेलायत गएर पढेर आउने हो । युरोप, अष्ट्रेलिया वा जापान, चाईना जहाँ गएर पढेर आउनुहोस् । त्यहाँ सिक्ने हो । त्यहाँबाट सिकेर आएर अब सुशासनको लागि, आर्थिक प्रगतिको लागि, सामाजिक न्यायको लागि अघिल्लो पुस्ता अधिकार प्राप्तीका लागि जति लडाई गर्यो, अब बाँकी काम गर्ने दायित्व हाम्रो हो भनेर एक चोटी अर्को संघर्ष गर्न जरुरी छ ।’

उनले थपे, ‘ज्वाइँ ससुराली गएर खाएजस्तो गरेर विदेशमा बसेर नेपाल बिर्सिने काम युवाहरुले गर्नुहुँदैन । त्यहाँ सिकेर देश निर्माण गर्न लाग्नुपर्यो ।’  तिमिल्सिनाले देशलाई सुशासन, समृद्धि र सामाजिक न्यायको दिशामा अघि बढाउने कुरामा युवाहरु दृढ अठोटका साथ अघि बढनुपर्ने बताए । 

Advertisement

Advertisement