हिमालय एअरलाइन्सद्वारा काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु

Advertisement

काठमाडौँ । नेपाल-चीन संयुक्त लगानी भएको हिमालय एअरलाइन्सले आज लामो समयदेखि प्रतीक्षारत काठमाडौँ-चोङकिङ-काठमाडौँ उडान सेवा पुनः सुचारु गरेको छ । यो सेवा बिस्तारलाई एअरलाइन्स्ले नेपाल र चीनबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रबर्द्धन गर्ने प्रतिबद्धताका रुपमा लिएको छ । 

काठमाडौँ-चोङकिङ-काठमाडौँ रुटले यात्रुहरूलाई नेपालको राजधानी र चीनको व्यस्त सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्नेछ । दुई सहरका बीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवम् प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एअरलाइन्स्कोे प्रतिबद्धतालाई समेत प्रतिविम्बित गरेको छ । 

Advertisement

समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक सहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक–कला एवम् उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रण समेत प्रदान गर्दै नेपाली यात्रुहरूमाझ आकर्षक गन्तव्यको आफूलाई प्रस्तुत गरेको छ । 

पहिलो आउटबाउन्ड उडान, एच९ ७८७, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान १०ः०७ मा प्रस्थान गरेको थियो र चोङ्किङ्कोे जियाङ्गबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे १५ः५० बजे अवतरण गर्नेछ । यस उडानको अवधि ३ घण्टा १४ मिनेटको रहनेछ । पहिलो उडानमा कूल यात्रु संख्या एक सय पच्चिस रहेको थियो । चोङकिङबाट त्यहाँको स्थानीय समयअनुसार अपराह्नको ४ः२५ बजे काठमाडौंका लागि  फिर्ती उडान छुट्नेछ र काठमाडौँमा साँझको ६ः३५ मा अवतरण हुने छ ।
 
डिसेम्बर १२ पश्चात् एअरलाइन्स्ले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुई पटक यी दुई सहरहरूका बीचमा उडान सेवा सञ्चालन गर्नेछ । यस उडान सेवासँगै नेपाल र चीनबीच हिमालय एअरलाइन्स्को यो चौथो सिधा उडान सेवा हुनेछ ।  एअरलाइन्स्ले यस अघि नै बेइजिङ, छिन्ताओ र सांघाईमा नियमित रूपमा उडान सेवा सञ्चालन गर्दै आएको छ । 
 

Advertisement

Advertisement