काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत सुर्खेतस्थित जर्बुटा स्वास्थ्य चौकी र नुवाकोटस्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नान) प्रदान गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालको उपस्थितिमा कार्यक्रम आयोजना गरि बेबी वार्मर हस्तान्तरण गरिएको हो ।
नवजात शिशु र विशेष गरी निरन्तर नर्सिङ सहयोग आवश्यक पर्ने गम्भीर रुपमा विरामी शिशु तथा चिसो वातावरणमा उपचार भइरहेका शिशुलाई अल्पतापबाट जोगाउन प्रयोग हुने उक्त बेबी वार्मर मेशिनहरु बैंकको सुर्खेत शाखा र रातमाटे शाखा कार्यालयको पहलमा प्रदान गरिएको हो ।
स्वास्थ्य चौकी जर्बुटामा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ढकालले स्वास्थ्य चौकीका हेल्थ असिष्टेन्ट अमर सुनार र वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ सुर्खेतका वडा अध्यक्ष दिपेन्द्रराज कोइरालालाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरेका हुन् ।
खड्गभञ्ज्याङ स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा ज्योति विकास बैंकका विभिन्न पदाधिकारीहरुबाट स्वास्थ्य चौकीका पदाधिकारीहरु लगायत सम्बन्धित क्षेत्रका विभिन्न पदाधिकारीहरुको उपस्थितिका बिच सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।
साथै, सोही कार्यक्रमकाबीच अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरुलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियर मार्फत बेबी वार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो ।
नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा नं. ३ स्थित खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १३ स्थित जर्बुटा स्वास्थ्य चौकीमा प्रसुति सेवा लिन आउने सेवाग्राही प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन् ।
बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।