वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ?

Advertisement

बिराटनगर । मूलुकको आर्थिक अवस्थालाई लिएर नकारात्मक भाष्य मात्रै हावी भएको भन्दै उद्योग संगठन मोरङले आर्थिक सार्वजनिक बहसलाई सकारात्मकता तर्फ मोड्ने प्रयत्नको थालनी गरेको छ । 

संगठनले वर्तमान आर्थिक परिदृष्यः चरम निराशा कि नयाँ सम्भावनाको टर्निङ पोईन्ट ? बिषयक अर्थ सम्बादको आयोजना गरि यस्तो प्रयास थालेको हो । सम्बाद कार्यक्रममा संघीयसांसदहरु दामोदर भण्डारी, माधव सापकोटा, सुमना श्रेष्ठ तथा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला वक्ताका रुपमा सहभागि थिए । 

Advertisement

कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेको, औद्योगिक क्षेत्र मात्रै होइन समग्र समाज नै नराम्रोसंग प्रभावित भएको उल्लेख गर्दै वर्तमानमा अर्थतन्त्रलाई लिएर सर्वत्र चासो भएको बताए । उनले राजनीतिक मुद्दामा मात्रै चासो, सरोकार र बहस हुने गरेको हाम्रो समाजमा आर्थिक बिषयमा बहस र छलफल केन्द्रित हुनु आफैमा सकारात्मक संकेतको द्योतक भएको वताउँदै यद्यपी अधिकाँश यस्ता छलफलहरु नकारात्मक भाष्य निर्माण गर्ने तर्फ उन्मुख रहेकोमा चिन्ता व्यक्त गरे । सार्वजनिक बहसहरुमा जिम्मेवार पक्षहरु बिच नै अहिलेको संकट निम्त्याउने कारणका रुपमा एकले अर्कोलाई दोषारोपण गर्ने प्रचलन बढेर जानु, नीजि क्षेत्रले राज्य संयन्त्रले प्रभावकारी काम नगरेको एवं नियामक निकाय खास गरि नेपाल राष्ट्र बैंकलाई दोष लगाउने, राष्ट्र बैंकले नीजि क्षेत्रलाई घाँटी नहेरी हड्डी निल्न खोज्दा अहिले अड्किएको भनेर दोष लगाउने काम भइरहेको उल्लेख गरे । 

अध्यक्ष सुरानाले वित्तीय क्षेत्रमा भएको नीतिगत अस्थिरताका कारण व्यवसायमा अनुमान गर्न सक्ने वातारण नभएको भन्दै राष्ट्र बैंकले छोटो समयको अन्तरालमा चालू पूँजि कर्जा सम्बन्धी ब्यवस्थाको उदाहरण दिए । त्यसैगरी, नीतिगत मात्र नभई सेवा प्रवाहमा समेत जवाफदेहिता नभएको भन्दै राजनीतिज्ञले स्थिर नीति ल्याउने र कर्मचारीतन्त्रले सेवा प्रवाहमा जवाफदेहि बन्नु पर्ने जिकिर गरे । 

नेपाल राष्ट्र वैंकका डेपुटी गभर्नर मिश्रले नेपालको आर्थिक विकासका महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने पर्यटन, विद्युत, कृषि, सूचना प्रविधि, सिमेन्ट जस्ता सेवा तथा उत्पादनमूलक उद्योगम लगानी केन्द्रित गर्न आग्रह गरे । उनले साना उद्योगमा लगानी गरी निर्यात गर्न चाहने उद्योगलाई वित्तीय संस्थाले सरल रुपमा कर्जा प्रवाहको व्यवस्था गर्नुपर्नेमा जोड दिए । देशको व्यापार घाटा न्यूनिकरणका लागि विलासिताका वस्तु उपभोगमा उपभोक्ता स्वयं सजग भई त्यस्ता वस्तुको आयातलाई निरुत्साहित गर्न अनुरोध गरे । 

डेपुटी गभर्नर मिश्रले बैंकहरुको वेसरेटमा कमी आईरहेकाले आगामी दिन उद्योगी व्यवसायीहरुका लागि थप सहज हुने वताउँदै वित्तीय संस्थाबाट जुन उद्देश्यकालागि कर्जा लिएको हुन्छ सोही क्षेत्रमा लगानी गरी कर्जा लगानीका क्षेत्र परिवर्तन नगर्न उद्योगीलाई आग्रह गरे । 

सांसद सुमना श्रेष्ठले अर्थतन्त्रको सबलीकरणका लागि तथ्यांक र अनुसन्धानका माध्यमबाट अन्तरवस्तु केलाई यस क्षेत्रको विकासमा देखिएका समस्यालाई नीतिगत, कार्यगत सुधार गर्दै स्वदेशी उद्योगको प्रतिष्पर्धी क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिईन् । 

सांसद माधव सापकोटाले अर्थतन्त्रका सूचकहरु सकारात्मक तर्फ अघि वढेतापनि राज्यको ढुकुटीबाट जुन प्रकारले लगानी हुनुपर्ने हो वर्तमान समयमा त्यो अनुरुप हुन नसक्नुको कारण जान्न सरकारले तत्परताको आवश्यकता रहेको औल्याए ।  वर्तमान समय पैसा हातमा राखेर वस्नुभन्दा पनि त्यसलाई लगानी गरेर मुनाफा गर्ने वातावरण वनाउन सबैपक्ष उत्तिकै जिम्मेवार रहेको वताउँदै अर्थतन्त्र र आर्थिक विकासका लगि सबैलाई निरन्तर खबरदारी गर्न अनुरोध गरे । 

सांसद दामोदर भण्डारीले आर्थिक विकास विना समृद्ध मुलुक निर्माण नहुने तर्क राख्दै सरकारलाई जिम्मेवार भएर अघि वढन सुझाव दिए । उनले हरेक क्षेत्रमा व्याप्त निराशाको अन्त्य गर्न सरकारको प्रमुख दायित्व भएकाले यसतर्फ सरकारको गम्भिरताको आवश्यकता औल्याए । देशमा व्याप्त वेथितिको अन्त्यका लागि पूर्वाग्रहरहीत भएर सबैलाई एकसाथ लिएर अघी वढन ढिलो गर्न नहुने धारणा उनले राखे । 

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष सुयस प्याकुरेलले नीजि क्षेत्र लामो समय देखि समस्यै समस्याको भूमरीमा फसेको र सरकार परिवर्तन भएपश्चात समस्या समाधानका लागि आग्रह गर्दै आएतापनि उल्लेख्य सुधार नआएको वताए । उनले यही अवस्था जारी रहे उद्योग मात्र होईन आगामी दिनमा उद्यमशिलता नै पलायन हुने चिन्ता व्यक्त गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले उद्योग व्यवसायको प्रवद्र्धन गर्नु मन्त्रालयको दायित्व भएकाले यस क्षेत्रको समस्यालाई क्रमशः समाधान गरिदै लैजाने आश्वासन दिए । उनले लगानीमैत्री वातावरण निर्माण गर्नु मन्त्रालय र मातहतका निकायको प्रमुख जिम्मेवारी भएको वताउदै हताश एव निराश नहुन उद्योगीलाई आग्रह गरे । 
 

Advertisement

Advertisement