'युवाको भविश्य यही देशमा सुनिश्चित गर्न सकेनौ भने कांग्रेसको सान्दर्भिकतामा नै  प्रश्न उठ्छ'

Advertisement

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसदसमेत रहेका व्यावसायी विनोद चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य यहि देशमा सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

कांग्रेसको पोखरामा आयोजित कार्यक्रममा मंगलबार उनले भने, ‘युवाहरूको भविष्य यहि देशमा सुरक्षित छ र उनीहरूका सन्ततीको भविष्य यहि देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु । मलाई लाग्छ, हाम्रो जिम्मेवारी यहि नै हो । र, यो संकल्प पूरा गर्न सकेनौँ भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’ 

Advertisement

युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै देशको आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक रहेको चौधरीले बताए । उनले भने, ‘आज वेरोजगार युवा मात्र होइन, राम्रो रोजगारीमा रहेका युवाहरू पनि जागिर छाडेर धमाधम विदेश गइरहेका छन् । जबसम्म हामीले उनीहरू र उनीहरूका सन्ततीको भविष्य यहि देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्न सक्दैनौँ, यो प्रक्रिया जारी रहनेछ । 

व्यावसायी चौधरीले भने राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने कांग्रेसले आर्थिक विकासको नेतृत्व पनि लिनसक्नुपर्ने बताए । नेपालको आर्थिक सुधारको नेतृत्व विगतमा कांग्रेसले लिएको उनले बताए । चौधरीले भने, अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको छ ।’

कांग्रेसले आफूलाई नयाँ पुस्ताले भर पर्नसक्ने पार्टीका रुपमा उभ्याउनुपर्ने उनले बताए । चौधरीले भने, ‘आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलो पटक मतदाताका रुपमा भोट गर्नेछन् । उनीहरूको पहिलो रोजाई कांग्रेस बन्ने गरि अहिलेदेखि नै काम गर्नुपर्नेमा उनले जोड दिए ।

नेपालको १० बर्षको आर्थिक विकासको रोडम्याप के हो ? हामीले नयाँ पुस्तालाई तिम्रो भविष्य यहि देशमा सुरक्षित भनेर देखाउने आधार के हुन् ? यी बिषयमा अब हामी अलमलमा रहनु हुँदैन् भन्दै उनले थपे, ‘हामीसँग आर्थिक विकासको प्रष्ट रोडम्याप हुनुपर्छ । राजनीतिको अबको एजेण्डा नेपाललाई विकसित देशमा पु¥याउने नै हुनुपर्छ । त्यसका लागि नीति, कार्यक्रम र कार्यान्वयन प्रणालीमा समेत गृहकार्य गर्न जरूरी छ । मलाई विश्वास छ, पार्टी नेतृत्व र समग्र पार्टी पंक्ति अब यहि दिशामा केन्द्रीत बनेर युवाहरूको आकांक्षालाई सम्बोधन गरिनेछ ।’ 

चौधरीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भव्य संरचनामा अवतरण हुँदा खुसी लागेको उल्लेख गर्दै विमानस्थल खाली रहनु भने राम्रो संकेत नरहेको बताए । उनले पोखरामा अन्तर्राष्ट्रिय उडान आकर्षित गर्नका लागि गम्भीर भएर लाग्नुपर्ने बताए । 

Advertisement

Advertisement