मानव तस्करहरुको धन्दा– खाडीमा महिला कामदार पठाउन लगाइएको प्रतिवन्ध हटाउन दबाब

Advertisement

काठमाडौं । श्रम विज्ञको नाममा केही व्यक्तिले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिवन्ध तत्काल हटाउनुपर्ने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रवार राजधानीमा आयोजित प्रयोजित कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । 

आफूलाई श्रमविज्ञ बताउने रामेश्वर नेपालले नियन्त्रण गर्नसक्ने अवस्था नभएकाले सरकारले लगाएको प्रतिवन्ध हटाउनुपर्ने बताए । महिलाहरुलाई घरेलु कामदारमा पठाउँदा सामाजिक र पारिवारिक विचलनसँगै धेरै बिकृतिहरु आइरहेको बेला उनले भने प्रतिवन्ध फुकुवा गर्नुपर्ने तर्क गरेका हुन् । अन्य मुलुकमा जस्तै नेपालमा पनि मानव तस्करीको जालो निकै ठूलो रहेको छ, जसमा विज्ञ, समाजसेवी, व्यवसायी आदि नामाम समेत काम गर्ने गरेको देखिन्छ । 

Advertisement

कार्यक्रममा सत्तारुढ नेपाली काँग्रेसकी सांसद रमा कोईरालाले नेपाली महिला कामदारहरु वैदेशिक रोजगारीमा जानुको कारणबारे खोजी गर्न जरुरी रहेको बताइन् । उनले नेपालमा नै महिला श्रमिकहरुले ठूलो पीडा भोग्नुपर्ने अवस्था विद्यमान रहेकाले त्यसको अन्त्य गर्नका लागि सरकारलाई गम्भीर हुन पनि आग्रह गरिन् । 

कोइरालाले भनिन् ‘मैले नेपालका श्रमिकहरु हामी यहाँबाट बाहिर जानुपर्ने कारण के हो भनेर खोज्न जरुरी छ । यहाँ जब पाउँदापाउँदै पनि हामी बाहिरकै जबमा किन हामफाली राखेका छौं ? हामीले यो पनि खोज्नुछ । अघि रेष्टुरेण्टमा काम गर्ने श्रमिक महिलालाई पक्रेर लगियो । त्यो महिलाको महिनाको बच्चा छ । तर प्रहरीले त्यो बच्चालाई दुध खुवाउन देउ न भन्दाखेरी त्यो नदिएको अवस्था पनि मैले देखेको छु ।’

रामेश्वर नेपालले खाडी मुलुकमा घरेलु कामदारको रुपमा महिला पठाउने कुरालाई सरकारले फुकुवा गर्दै कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने तर्क गरे । उनले भने, ‘हाम्रो आफ्नै श्रम सम्बन्धि कानुनमा कन्ट्रोल छैन । जो नीतिहरु हामीले बनाएका छौ, त्यसको कार्यान्वयन गर्न सकिरहेका छैनौं । हामी लाचारीहरु देखाईरहेको अवस्था छ । मजदुर फ्रेन्डली कानुन छैन । अव्यवहारिक भयो भनेर भनिन्छ । मजदुर फ्रेन्डली नीतिहरुलाई हामीले रद्धीको टोकरीमा हालिराखेका छौं । वैदेशिक रोजगारीमा जानका लागि जुन ब्यान्डहरु गरिन्छ । त्यो आफैंमा आपत्तिजनक छ । यो स्विकार्य कुनै पनि हालत हुनु हुँदैन ।’  

यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का निमयहरुको पालना नगर्ने देशहरुमा घरेलु काममा लागि महिलालाई वैदेशिक रोजगारमा पठाउने कुरा उपयुक्त नहुने बताए । उनले त्यहाँ गएर आएका महिलाहरुको पीडालाई पनि सम्बोधन हुनेगरी सो सम्बन्धि निर्णय लिनुपर्ने समेत बताए । 

उप्रेतीले भने, ‘त्यहाँ गएर आएका कोही पनि महिला कामदारहरुलाई खाडी मुलुकमा पठाउने पक्षमा हुनुहुन्न । घरेलु कामदार पठाउने कुरामा त झन कठोर बन्नुभयो । त्यहाँ गएका कामदारहरुले त्यहाँको पीडा भोग्नुभएको छ । आईएलओको नियम, कानूनहरु ती कन्ट्रीहरुले नमानीदिने । अनि हामीले हाम्रा चेलिबटीहरु लुकेर जाने थाले, छिटो खुलाई दिनुप¥यो भन्न मिल्दैन ।’

आप्रवासी महिला समूह नामक संस्थाकी विजया राई श्रेष्ठले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिवन्ध फुकाउने विषयमा सरकारलाई आफूहरुले सुझाव दिएको बताइन् । देशमा राजनीतिक अव्यवस्थाका कारण बेरोजगारी बढ्दा पुरुष मात्रै नभएर महिलासमेत वैदेशिक रोजगारीमा जान बाध्य भएका छन् । यसले ठूलो समस्या लिए पनि महिलाहरुलाई स्वदेशमै रोजगारी दिने र नेपाली चेलीहरुलाई आफ्नै रोजगारी दिन नेपालका नेता, प्रशासक, उद्योगी व्यवसायी गम्भीर बनेका छैनन् । 

Advertisement