काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले निजामति कर्मचारीहरुको भन्दा शिक्षकको तलव एक रुपियाँले भए पनि बढी हुनुपर्ने बताएका छन् ।
आइतवार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले निजामती कर्मचारीहरुको भन्दा शिक्षकको तलव बढी हुनुपर्ने बताएका हुन् । अन्य देशमा शिक्षक र प्राध्यापकको तलब सुविधा तथा मर्यादाक्रम अरुको भन्दा माथि हुने भए पनि नेपालमा भने राज्यस्रोतमागि निजामति कर्मचारी हालीमुहाली हुने हुँदा आफूहरुले बढी सुविधा र लाभ लिने तर शिक्षकलाई भने कस्ने काम गर्दै आएका छन् ।
आजको बैठकमा पौडेलले शिक्षकहरुको तलव उनीहरु हेपिनुपरेको र राम्रो शिक्षकहरु पलायन हुनुपर्ने अवस्था सिर्जना भएको बताए । उनाले विद्यालय बनाउने जिम्मेवारी शिक्षकको भएको भन्दै शिक्षक खुशी भएर विद्यालय नगएसम्म र राम्रो सेवा सुविधा नपाएसम्म उनीहरुले संगठनात्मक गतिविधि गरिरहने बताए ।
त्यसो हुँदा शिक्षण सिकाइमा स्तरियता पनि नहुने पौडेलको भनाई छ । उनले हाल शिक्षकहरुमा देखिएको सबै प्रकारको समस्यालाई एकमुस्ट रुपमा सम्बोधन गर्नुपर्ने बताए । पौडेलले भने, ‘विद्यालय बनाउने भनेको शिक्षक नै हुन् । हामीलाई चित्त बुझोस्, नबुझोस् । कसैले शिक्षकहरुले राजनीति गरे, खराब गरे भनेर आलोचना गरेपनि मेरो मत के छ भने विद्यालय बनाउने भनेको शिक्षकले नै हो । जबसम्म शिक्षक खुशी भएर विद्यालयमा प्रवेश गर्दैन, राज्यको तर्फबाट हुने सेवा सुविधा राज्यको सापेक्षतामा उसले प्राप्त गरेर खुशी साथ त्यहाँ पुग्दैन, त्यस बेलासम्म संगठनहरु चलिरहन्छन् ।’
उनले थपे, ‘अधिकारको कुरा भइरहन्छन् । शिक्षण सिकाइको स्तरियता हुँदैन । शिक्षा मन्त्रालयले मातहतको निजामती कर्मचारीको हकमा एउटा नीति लागु गर्ने, त्यही विद्यालय सुधार्ने शिक्षकको बारेमा फरक तरिकाले सोच्ने कुरा सिद्धान्तत्ः गलत छ । एक रुपैयाँ भएपनि शिक्षकको तलव बढी हुनुपर्छ भन्ने पक्षमा छु म । किनभने हुम्ला, मुस्ताङ, मधेसमा गएर उसले पठाउँछ । एक रुपैयाँ भनेको धेरै कुरा होइन । राज्यले त्यसरी प्रोत्साहन नगर्ने हो भने शिक्षा प्रणाली अरुले सुधार्न सक्दैन ।’