भाजपातर्फ संकेत गर्दै प्रधानमन्त्रीले भने– परिवर्तन उल्ट्याउन विदेशी चलखेल पनि भयो

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा देखिने गरेका असन्तुष्टिमा अन्तर्राष्ट्रिय चलखेल समेत रहेको दावी गरेका छन् । 

यसअघि जनतामा असन्तुष्टि र  नकारात्मकता फैलाउन राजसंस्था पक्षधर जिम्मेवार रहेको आरोप लगाउँदै आएका दाहालले बुधबार विदेशी चलखेललाई समेत आरोप लगाउन बाँकी राखेनन् । उनको संकेत भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)तर्फ लक्षित देखिन्थ्यो । 

Advertisement

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चाको बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा दाहालले त्यस्तो बताएको जानकारी दिएका हुन् । पछिल्लो समयमा हिन्दुराष्ट र राजसंस्थाको पक्षमा जनलहर बढ्दै गएको छ । यसको पछाडी भाजपाको समेत भूमिका हुनसक्ने गणतन्त्रवादीहरुले आशंका गर्दै आएका छन् । 

प्रधानमन्त्री दाहालले बेलाबखत परिवर्तन उल्ट्याउने प्रयास भइरहेको बताउने गरे पनि यसको दोष राजा ज्ञानेन्द्र शाह र राजसंस्था पक्षधरहरुमाथि थोपर्ने गरेका थिए । आज भने उनले छिमेकी देशको सत्तारढ दलतर्फ आरोप लगाउन खोजेका छन् । भारतमा भाजपाको लोकप्रियता बढ्दै जाँदा लामो समयदेखि सत्तामा रजगज गर्दै आएको भारतीय राष्ट्रिय कांग्रेस भने अस्थित्वको संकटमा पुगेको छ । 

देशका विभिन्न भागमा धार्मिक र जातीय प्रदर्शन हुने गरेका बेला दाहालले विदेशी भूमिकालाई पनि जोडेर दिएको अभिव्यक्तिलाई अर्थपूर्ण ठानिएको छ । केही दिनअघि नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री शङ्कर भण्डारीले चैतसम्म हालको विवासदत संविधान खारेज हुने दावी गरेका थिए । 

हिन्दूराष्ट्र र राजसंस्था पक्षधर दल राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो मुलभूत मुद्दासहित बृहतरुपमा आन्दोलनको तयारी गरिरहेको बेला सत्ताधारी दलहरुमा पनि वैचारिक ध्रुवीकरण बढेर गएको छ । त्यसलाई रोक्न कम्युनिष्ट दलहरुले समाजवादी मोर्चा बनाएर प्रतिकारको प्रयास गर्ने तयारी गरेका छन् । 

आजको बैठकमा दाहालले ‘त्यो षड्यन्त्र प्रतिगामी, दलाल प्रतिक्रियावादी र अर्को अलिकति विदेशी स्वार्थको छ भन्ने हाम्रो साझा ठहर छ’ भन्दै परिवर्तन उल्ट्याउने र प्रतिगामी दिशातर्फ धकेल्ने षड्यन्त्र भइरहेको सुनाएका थिए । 

Advertisement

Advertisement