काठमाडौं । बालकुमारी घटनालाई लिएर सरकारले तीन जना सरकारी अधिकारीहरुलाई कारवाही गरेको छ । सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय भएको हो ।
रोजगारी अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन पाउनुपर्ने माग गर्दै शुक्रबार भएको प्रदर्शनका क्रममा राज्य पक्षबाट कमजोरी भएको स्वीकार गर्दै सरकारले उनीहरुमाथि कारवाही गरेको हो । उक्त घटनामा कोरिया जाने प्रयासमा रहेका दुई जना युवाको प्रहरीको गोली लागेर र कुटपिटबाट मृत्यु भएको थियो ।
ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई सरकारले निलम्बन पनि गरेको छ ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले बालकुमारी घट्नामा सरकारको कमजोरी भएको स्वीकार गरेका थिए । उनले भने, ‘हाम्रो मन्त्रीजीको पीएसओले परिस्थितिको राम्रो आँकलन नगरिकन त्यो गाडी लिएर जाने प्रक्रियामा गम्भीर त्रुटी भएको महसुस गरेर उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको छ । त्यसैगरी गोली चलाउन आदेश दिनेमा पनि त्रुटीपूर्ण ठानेर गोली चलाउन आदेश दिने अधिकारीलाई पनि छानबिनको रिपोर्ट नआउँदासम्म निलम्बन गरिएको छ ।’
पानी जहाज बनाउने कामका लागि कोरियाली भाषा परीक्षा दिएर फेल भएका नेपाली युवाले उत्पादनमूलक कामका लागि भएको भाषा परीक्षाको फारम भर्न पाउनुपर्ने माग गर्दै ईपीएस कार्यालय अगाडि धर्ना र प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले अनावश्यक बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको थियो । प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका थिए ।