नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ जाँदैछः सभामुख घिमिरे

Advertisement

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातर्फ गइरहेको बताएका छन् । ​आईतवार ललितपुरमा राष्ट्रिय च्याउ दिवस एवं च्याउ मेला तथा परिकार महोत्सवमा उनले विगतमा आत्मनिर्भर रहेको नेपाल अहिले परनिर्भर बन्दै गएको बताएका हुन् । 

घिमिरेले भने, ‘हामी दिनप्रतिदिन आत्मनिर्भरताबाट परनिर्भरतातिर गइरहेको बेलामा यो च्याउ उत्पादक संघ स्थापना गरी नेपालमा पाइने च्याउहरुलाई प्रमोसन गर्ने, च्याउहरुको महत्वलाई जनताको बीचमा पुर्याउने र उत्पादन गर्ने काममा निरन्तर लाग्ने, खट्ने काममा लाग्ने र बिक्री वितरण गर्ने काममा महत्वपूर्ण उपलब्धि प्राप्त भएर आइरहेको छ । नेपाल वास्तवमा जडिबुटीयुक्त मुलुक, यहाँ उत्पादन हुने च्याउहरुको अझैपनि धेरै अध्ययन र अनुसन्धान हुन बाँकी छ । नेपालमा भएका धेरै महत्वपूर्ण उत्पादनहरु खासगरी हाम्रा जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा आज हामी धेरै पछाडि परिरहेका छाँै । हाम्रा आफ्ना मौलिक उत्पादनका चिजहरु अरुले यसलाई अधिकार प्राप्त गर्ने होडबाजी नै चलिरहेको बेला छ ।’

Advertisement

नेपालमा पाइने च्याउहरुलाई प्रवद्र्धन र बजारीकरण गर्न जरुरी रहेको बताउँदै उनले नेपाल जैविक विविधतालाई उपयोग गर्ने सन्दर्भमा धेरै नै पछि परेको बताए । उनले विदेशी च्याउलाई बिस्थापित गरी स्वदेशी च्याउको बजारीकरण गर्न जरुरी रहेको बताए । गत १० वर्ष यता सकारले च्याउ उत्पादक किसानलाई आवश्यक महत्व र स्थान दिन नसकेको घिमिरेको भनाई छ । 

उनले भने, ‘यस्तो बेलामा च्याउ उत्पादकहरुले नेपालमा च्याउ उत्पादन गर्ने, विदेशबाट आउनेकुरालाई कम्तिमा बिस्थापित गर्ने र च्याउको परिकारले उपभोक्ताहरुलाई दिने महत्वपूर्ण खुराकहरु के हुन् ? यसले शरीरलाई चाहिने तत्व कसरी दिनसक्छ ? यसको बारेमा बताउने र सिकाउने कुरा निजी क्षेत्रबाट खासगरी च्याउ उत्पादक आफैँ मिलेर पनि धेरै कोशिस गरिरहनुभएको छ । बितेका केही वर्ष यता गत १० वर्ष यता च्याउ क्षेत्रमा किसानहरुले गरिरहेका प्रगतिहरु, किसानका मेहनत, च्याउ उत्पादकहरुमा राज्यले जति महत्व दिनुपर्ने हो, त्यो कुराको अझैपनि अभाव छ । जसरी अरु क्षेत्रको अनुसन्धानमा महत्व दिइएको छ, नेपालमा पाइने च्याउहरुलाई अनुसन्धान गर्ने, त्यसलाई व्यवहारमा लागू गर्ने र यसको बजारीकरण गर्नेकुरामा अझै ध्यान दिन जरुरी छ ।’

Advertisement

Advertisement