काठमाडौं । बहावमा आधारित १५ जलविद्युत आयोजनाले आवश्यक कागजात पुर्याउन नसकेको विद्युत प्राधिकरणले जनाएको छ । तोकिएको समयभित्र आवश्यक कागजात उपलब्ध नगराएको भन्दै प्राधिकरणले १५ आयोजनालाई पीपीए सम्झौताको रोलक्रमबाट हटाएको हो ।
नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको मिति २०७९ माघ २६ गतेको ९३०औं बैठकको निर्णय अनुसार बहावमा आधारित (आरओआर) तर्फ पीपीए सम्झौता गर्ने सम्बन्धि निर्णय भएको थियो ।
निर्णय अनुसार अधिकतम सीमा ६ हजार ७ सय ५० मेगावाट नपुगेसम्म ग्रिड कनेक्सन एग्रिमेन्टको रोलक्रमको आधारमा जलविद्युत आयोजनाहरुको पीपीए गर्ने भन्ने रहेको थियो । सो क्रममा पीपीएको प्रकृया अगाडि बढ्न नसकेका आयोजनाहरुको लागि प्राधिकरण विद्युत व्यापार विभागबाट मिति २०८० असोज १६ गते प्रथम पटक गते राष्ट्रिय गोरखापत्र दैनिकमा रितपूर्वक आवश्यक कागजातहरु/दस्तावेजसहित निवेदन साथ ३५ (पैंतीस) दिनभित्र विभागमा सम्पर्क गर्न सूचना प्रकाशित गरेको थियो ।
उक्त सूचना बमोजिम तोकिएको अवधिभित्र निवेदन प्राप्त नभएका एवम् प्राप्त निवेदनहरूमा रितपूर्वकका आवश्यक कागजातहरु/दस्तावेज संलग्न नभएका २१५ देखी २२९ मेवा क्षमताका विभिन्न १५ वटा आयोजनाहरुलाई प्राधिकरणको मिति २०८० पुस १२ गतेको निर्णयानुसार पीपीएको रोलक्रमबाट हटाइएको हो ।
रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका तत् पश्चातका पीपीएका लागि योग्य बहावमा आधारित आयोजनाहरुको पीपीए प्रकृयालाई अगाडि बढाइने हुँदा रितपूर्वक आवश्यक कागजातहरु दस्तावेज सहित निवेदन साथ विद्युत व्यापार विभागमा १५ दिनभित्र सम्पर्क राख्न प्राधिकरणले आग्रह गरेको छ ।
रोलक्रमबाट हटाइएका आयोजनाहरुः
चाइनी घुमुखोला लघु जलविद्युत आयोजना, सुरनायागढ लघु जलविद्युत आयोजना, लुडे खोला, इलुन खोला, हुडी खोला, तिनउ खोला, चिसाङ खोला ए, ढाड खोला, तादी खोला पीपीएका लागि रोलक्रमबाट हटाइएको छ। यस्तै लंडी खोला, मध्य सुनकोसी,लोवर तारा,घर्च्यांङखोला, चमेलिया र अपर त्रिशुली २ आयोजनालाई रोलक्रमबाट हटाइएको छ ।