सुदीप थापाको नेतृत्वमा आनमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)मा सुदीप थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न आनको २४औं साधारण सभाले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

थापा एएनएस क्रियसन नामक विज्ञापन एजेन्सीका प्रमुख हुन् । उनी निर्विरोध निर्वाचित भएका हुन् । कोषाध्यक्ष र सदस्यबाहेक सबै पद सर्वसम्मत चयन भएको हो । 

Advertisement

संघको प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य र द्वितीय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पंकज प्रधान, महासचिवमा फ्युचर हब मिडिया मल्टिपर्पोजका कृष्ण घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का र सहकोषाध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भए । 

निर्वाचनमार्फत कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठ निर्वाचित भएका छन । कोषाध्यक्ष पदका लागि जिरो मिडियाका जीवन पोख्रेल र जोइन मिडियाका श्रेष्ठ प्रतिस्पर्धामा थिए ।

यस्तै कार्यसमिति सदस्यतर्फ बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’ले सर्वाधिक मत प्राप्त गरी विजयी भए । उनले ६१ मत प्राप्त गर्दै विजयी भएका हुन । त्यसैगरी, एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दिपेन्द्र पौडेल र मेक वेजका विधान राजभण्डारीले समान ५१ मत, रेडियो लिंकका रोशन पौडेल ४९ मत, मार्सका मनिस अधिकारीले ४५ र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल ४२ मतसहित निर्वाचित भए । 

सदस्यमा शम्भु अधिकारी र मोहन गजुरेलले समान ४१ मत प्राप्त गर्दा जीपी तिमल्सिनाले ३७ मत प्राप्त गरे । यसअघि संघको अध्यक्ष सोम धिताल थिए । नवनिर्वाचित कार्यसमितिले शपथ खाएको छ । आनको कार्यसमितिको कार्यकाल तीन बर्षको हुन्छ । 

Advertisement

Advertisement