काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रोपटक दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।
समितिको आइतबार बसेको बैठकले उपकुलपति छनोटसम्बन्धी कार्यविधि परिमार्जन गरेपछि दरखास्त आह्वान गर्ने निर्णय गरेको हो ।
गत शुक्रबार प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको वर्ष, महिना र दिनसमेत० व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि पेस गर्न सूचना निकालेपछि त्यसको सर्वत्र विरोध भएको थियो । विरोधपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नै सच्याएर अर्को सूचना निकाल्न निर्देशन दिएका थिए । सोहीअनुसार पुरानो प्रक्रिया रद्द गरी दोस्रोपटक दरखास्त आह्वान गरेको हो ।
कस्ता व्यक्तिले उपकुलपतिका लागि दरखास्त दिन पाउने छन् भन्ने विषयमा समितिले सूचनामा केही पनि खुलाएको छैन । तर उपकुलपतिका लागि इच्छुक व्यक्तिले ‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ बमोजिम दरखास्त दिन भनिएको छ ।