काठमाडौं । प्रधानमन्त्री केपी ओलीले माओवादी केन्द्रको विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् । विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा उनले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताए ।
अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आरोपका सम्बन्धमा ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए ।
संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री उनले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।’