पर्यटन बोर्ड कार्यक्रम गर्छ, भुक्तानी गर्दैन, भुक्तानी विवादले बोर्डभित्र तनाब

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुको करोडौं रुपियाँ भुक्तानी हालसम्म पनि नगरेको भन्दै भुक्तानी नपाएकाहरुले गुनासो गरेका छन् । 

बोर्डले दर्जना कम्पनी तथा संघसंस्थाहरुको २० करोड दुई लाख ९५ हजार ६२८ रुपियाँ रकम भुक्तानी गर्न बाँकी रहेको उनीहरुको दावी छ । बोर्डले विभिन्न समयमा अन्तर्राष्ट्रिय कार्यक्रमहरु आयोजना गरे पनि अहिलेसम्म त्यसको भुक्तानी गर्न सकेको छैन् । 

Advertisement

रकम लिनुपर्ने पक्षहरुले दबाब बढाउँदै जाँदा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा धनन्जय रेग्मी तथा कर्मचारीहरुबीच विवाद बढ्दै गएको छ । आज (सोमबार) पनि यस विवादलाई लिएर बोर्डमा तनावको स्थिति सिर्जना भएको थियो ।  

बोर्डले समयमा पैसा नदिँदा आफूहरुलाई कर्मचारीको तलब  भुक्तानी गर्न समेत समस्या भएको भन्दै विभिन्न होटल तथा रेष्टुरेन्ट, ट्राभल एजेन्सी, सामान आपूर्तिकर्ता, केवलकार कम्पनी, शैक्षिक संस्था, वायुसेवा कम्पनी आदिले बोर्डमा दबाब दिँदै आएका छन् ।   

बोर्डले पोखरामा आयोजित पाटा इन्टरनेसनल एड्भेन्चर मार्ट, बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्ट र चन्द्रागिरिमा दिगो पर्वतीय विकास सम्मेलनको अझै भुक्तानी नगरेको व्यावसायीहरूले सुनाए । 

एक व्यावसायीले भने, ‘यस्तो ठूलो कार्यक्रम गर्यो भनेर हामी खुशीका साथ बोर्डसँग होटलको सुविधाहरु मिलायौं । तर अहिलेसम्म पैसा आएको छैन् । पाटा एनुअल समिट एण्ड एडभेन्चर मार्टको मात्र पाँच करोड ६६ लाख चार हजार ७७५ रुपियाँ भूक्तानी गर्न बाँकी रहेको ती पर्यटन व्यावसायीले बताए । 

उनका अनुसार बुद्धिष्ट इन्टरनेसनल ट्राभल मार्टको ७० लाख रुपियाँँ बोर्डले तिर्न बाँकी छ । चन्द्रागिरिमा दिगो पर्वतीय विकास सम्मेलनको १३ लाख रुपियाँ बाँकी छ । बोर्डमा भुक्तानीको लागि जाँदा एउटाले अर्कोलाई देखाउने, अर्कोले अर्कोलाई देखाउने गरेको भुक्तानी लिनुपर्ने पक्षको गुनासो छ । 

बोर्डले जहाज चढेकोदेखि होटलहरुमा राखिने ‘ट्राभल डेक्स’को पनि भुक्तानी नदिएको भन्दै पीडित पक्षले सीईओको कार्यकाल सक्किन लागेकाले पनि आफूहरुलाई भुक्तानीको चिन्ता बढ्दै गएको बताए । 

यता बोर्डका मणिराज लामिछानेले भने भुक्तानीको काम प्रक्रियामा रहेको बताए । त्यसको लागि कार्यदल बनेको उनको भनाई छ । लामिछानेले कार्यकालले काम गरिरहेको बताए पनि के कारणले भुक्तानी रोक्किएको हो ? सो भने खुलाउन चाहेनन् । उनले कतिपयको रिपोर्ट समयमा नआएकोले पनि ढिलो भएको हो भन्दै सबैको रकम भुक्तानी हुने बताए ।  

लामिछानेले भने, ‘अघिल्लो आर्थिक वर्षमा सबै भुक्तानी गर्न भ्याइएन । त्यही भएर यसलाई ‘पेयवल’ (भुक्तानी गर्न बाँकी)मा राखेको छ । बोर्डले पनि पास गरेको छ । त्यो पेयवललाई हेरेर भुक्तानीका लागि काम भइरहेको छ ।’  

Advertisement

Advertisement