अर्को वर्ष पूर्णरूपमा एनएफआरएस लागू गर्न सकिन्छः  अध्यक्ष सिलवाल

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ‘नेपाल वित्तीय प्रतिवेदन मान, इन्स्योरेन्स कन्ट्रयाक्ट्स’ विषयक छलफल सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान आईएफआरएस र नेपालको बीमा क्षेत्रमा एनएफआरएस– १७ लागू गर्नका लागि गर्नुपर्ने तयारी, त्यसका चुनौती र सम्बोधन गर्नुपर्ने विषयका बारेमा छलफल सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस – १७ लागू गर्नका लागि वातावरण बनाउन र क्षमता अभिवृद्धि गर्नका लागि लेखामान बोर्ड र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई आ–आफ्नो जिम्मेवारी बर्गीकरण गरी कार्य गर्न निर्देशन दिए । अध्यक्ष सिलवालले सम्बद्ध नियामक निकायहरू आ–आफ्नो जिम्मेवारी एकिन गरी अगाडि बढेमा यस वर्ष नसकिए पनि अर्को वर्ष पूर्णरूपमा एनएफआरएस – १७ लागू सकिने बताए ।  

सिलावलले एनएफआरएस–१७ लागू हुँदा नेपालको बीमा क्षेत्रप्रतिको अन्तर्राष्ट्रिय विश्वास अझ बढ्ने र पुनर्बीमा गर्न तथा दाबी भुक्तानी पाउन सहज हुनेमा जोड दिएका थिए । 

लेखामान बोर्ड, नेपालका अध्यक्ष प्रकाशजंग थापाले आगामी साउन १ गतेदेखि नै एनएफआरएस– १७ लागू गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मानको मूल प्रावधानमा असर नपर्ने गरी एनएफआरएस– १७ लागू गर्दा आइपर्ने समस्या समाधान गर्न बोर्ड तयार रहेको बताए ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजन काफ्लेले एनएफआरएस– १७ लागू गर्नका लागि बीमा कम्पनीहरूलाई यसको महत्वका बारेमा बुझाउनुपर्ने, पूर्वाधारमा लगानी गर्नुपर्ने र साझा सफ्टवेयर बनाउनुपर्ने बताए । 

Advertisement

Advertisement