अमेरिकामा ट्रम्प विजयी हुँदा नेपाली बजारमा डलरको मूल्यमा ‘रेकर्ड ब्रेक’

Advertisement

काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प बिजयी भएको भोलि पल्ट नेपाली बजारमा डलरको मूल्यले रेकर्ड कायम गरेको छ । बुधबार कमला ह्यारिसलाई हराउँदै ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा बिजयी भएका हुन् । 

नेपाल राष्ट्र बैंकले बिहीबार एक डलरको खरीद मूल्य १३४.५६ रुपियाँ र बिक्री मूल्य १३५.१६ रुपियाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो । बुधबार डलरको खरिद मुल्य १३४.२८  र बिक्री मूल्य १३४.८८ रुपियाँ थियो । बिहीबार त्यो उच्च मात्रामा बढेको देखिन्छ । 

Advertisement

यसैपनि पछिल्लो समय डलरको मूल्य उच्च विन्दुकै हारहारीमा थियो । मंगलबार मात्रै डलरको मूल्य बिक्री मूल्य १३४.८९ रुपियाँ थियो । पछिल्लो समय विश्व बजारमा बिभिन्न कारणले डलरको माग बढेपछि नेपाली बजारमा पनि यसको मूल्य बढ्न गएको थियो । 

तर, बिहीबार डलरको मूल्य बढ्नुको कारण अमेरिकाको राष्ट्रपतिमा ट्रम्पको बिजयीलाई लिइएको छ । डलर अमेरिकी मुद्रा हो । बिभिन्न कारणले गर्दा पछिल्लो समय अमेरिकी अर्थतन्त्र शिथिल अवस्थामा छ । ट्रम्पले आफु राष्ट्रपतिमा बिजयी भएपछि अर्थतन्त्र बलियो बनाउने एजेन्डा सहित चुनावमा होमिएका थिए । उनी राष्ट्रपति भएमा अमेरिकी अर्थतन्त्र सुधार हुने अपेक्षा गरिएको छ । सोही मनोबलका कारण अहिले अमेरिकी डलरमा लगानी बढेको छ । 

ठूला ठूला लगानीकर्ताले डलरमा लगानी बढाएको बुझीएको छ । त्यसको कारणले बिहीबार डलरको मूल्य उच्च मात्रामा बढेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । 

‘एकै दिनमा डलरको मूल्यमा झ्याप्पै ठूलो परिवर्तन आउदैन । प्राविधिक रुपमा त्यस्तो कारण पनि छैन । हिजो ट्रम्प अमेरिकी राष्ट्रपतिमा बिजयी भए । उनले अर्थतन्त्र सुधार गर्ने एजेन्डा बनाएको बताइएको छ । उनको कार्यकालमा अर्थतन्त्र सुधार हुने अपेक्षा पनि गरिएको छ । सोही कारण अहिले डलरमा लगानी बढेको छ । त्यसले गर्दा यसको माग बढ्न गई बिश्वव्यापी रुपमा यसको मूल्य बढेको छ,’ उनले भने, ‘अहिले अमेरिकामा शेयर बजार पनि बढेको छ ।’ 

यद्यपि, अहिले अमेरिकाको ऋण ३४ ट्रिलियन डलर छ । तर, ट्रम्पको आसन्न कार्यकालमा अर्थतन्त्र सुधार हुने अपेक्षा गरिएको छ । त्यसले गर्दा अहिले विश्वव्यापी रुपमा डलरको माग बढेको छ । 

नेपाली मुद्रा भारतीय मुद्रासँग पेग (आबद्ध) छ । भारतमा डलरको मूल्य बढ्दा नेपालमा पनि स्वतः बढ्छ । भारतमा डलरको मूल्य घट्दा नेपालमा पनि घट्ने गर्छ । विश्वव्यापी रुपमा माग बढ्दा अहिले भारतमा पनि डलरको माग बढेको छ । त्यसले गर्दा त्यहाँ पनि डलरको मूल्य बढेको छ । त्यसको असरले नेपालमा पनि मूल्य बढेको हो ।

यसअघि पनि भारतकै कारण नेपालमा डलरको मूल्य बढेको थियो । पछिल्लो पटक भारतले डलर र सुनको सञ्चिती बढाउने रणनीति लिएको छ । त्यसले गर्दा भारतमा डलरको माग बढेको छ । तर, आपुर्ति भने कम्जोर नै देखिएको छ । यसरी भारतमा डलरको माग उच्च र आपुर्ति कम भएपछि डलरको मूल्य बढ्न थालेको थियो । 

त्यसअघि पनि अमेरिका, लन्डन, क्यानडा, युरोपियन लगायतका देशको केन्द्रीय बैंकले डलरमा दिने व्याजदर बढाएका छन् । त्यसले गर्दा डलर ‘होल्ड’ भएर यसको आपूर्ति श्रृंखला समेत प्रभावित भएको थियो । त्यसले गर्दा बिगतमा पनि यसको मूल्य बढेको थियो । अहिले ट्रम्पको बिजयीले डलरको मूल्य बढाएको छ  । 

नेपाल र भारतमा डलरको मूल्य बढ्नुको अर्थ भारतीय र नेपाली मुद्रा कम्जोर हुनु पनि हो । डलरको मूल्य घटेमा भारतीय र नेपाली मुद्रा बलियो भएको मान्न सकिन्छ ।

डलरको मूल्य बढ्दा नेपाललाई फाइदा बेफाइदा दुवै हुनेछन् । डलरको मूल्य बढ्दा रेमिट्यान्स, विदेशी पर्यटक, निर्यात लगायतका माध्यमबाट हुने आम्दानी बढ्नेछन । किनकी, त्यसबाट डलरमा आम्दानी हुन्छ । त्यो अवस्थामा डलरलाई नेपाली रुपियाँमा सटही गर्दा धेरै आम्दानी हुनेछ ।

तर, आयात, विदेशी ऋण लगायतका बैदेशिक भुक्तानी भने महंगो हुनेछ । नेपालले खर्बौ रुपियाँ विदेशी ऋण तिर्नुपर्नेछ । साथै बार्षिक १४–१५ खर्बको बस्तु आयात हुने गर्छन् । त्यसको भुक्तानी डलरमा गर्नुपर्छ । त्यो अवस्थामा डलरको मुल्य बढ्दा आयात र विदेशी ऋणको दायित्व पनि महंगो हुने विज्ञहरु बताउँछन् ।

यसरी डलरको मूल्य बढ्दा फाइदा–बेफाइदा दुवै छन् । तर, समग्रमा डलरको मूल्य घटेको नै राम्रो हुने विज्ञहरु बताउँछन् । नेपाली मुद्रालाई बलियो बनाउँदै जानुपर्ने उनीहरुको भनाइ छ । त्यसका लागि अर्थतन्त्र दिगो रुपमा बलियो हुन आवश्यक रहेको उनीहरु बताउँछन् । 
 

Advertisement

Advertisement