नेपाल टेलिकमको साधारण सभाबाट ४० प्रतिशत लाभांश पारित

Advertisement

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनटीसीले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । टेलिकमले हिजो सम्पन्न गरेको साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकमबाट प्रतिशेयर ४० रुपियाँका दरले शेयरधनीहरुलाई नगद लाभांश दिने भएको हो ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७९।८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरुमा छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

Advertisement

सोही सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०।८१ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टस नरेन्द्र भट्टराई र महेश कुमार गुरागाईलाई नियुक्त गरेको थियो । सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको रुपमा मनिषजङ्ग जोशी निर्विरोध निर्वाचित भएका थिए ।

नेपाल टेलिकमका कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले वार्षिक प्रतिवेदन पेश गरेका थिए भने कार्यक्रममा कम्पनीको भ्वाइस सेवा तर्फको बजार हिस्सा ७.८२ प्रतिशतले वृद्धि भई ६१.५१ प्रतिशत पुगेको बताइएको थियो ।

हाल नेपाल टेलिकमले समिक्षा अवधिमा ४४.४२ अर्ब रुपियँ आम्दानी गरी ७.९२ अर्ब रुपियाँ मुनाफा आर्जन गरेको छ । कर तथा शुल्क बापत कुल आयको ६४.०७ प्रतिशतले हुन आउने २८.४६ अर्ब रुपियाँ राजस्व नेपाल टेलिकमले तिरेको साधारण सभामा जानकारी दिइएको थियो । कम्पनीले आफ्ना भ्वाईस तथा डेटा दुवैतर्फका सेवाहरुलाई आगामी दिनमा थप प्रभावकारी बनाउदै लग्ने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 


 

Advertisement

Advertisement