काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को निमित्त कार्यकारी प्रमुखमा अन्योलता सिर्जना हुनेगरी पत्र पठाएको छ ।
आइतबार नाम नतोकी वरिष्ठ कार्यकारी निर्देशकलाई निमित्तको जिम्मेवारी दिँदै पत्र पठाएपछि अन्योलता सिर्जना भएको हो । यसअघि निवर्तमान अध्यक्ष रमेश हमालको सिफारिसमा बोर्ड सञ्चालक समितिले कार्यकारी निर्देशक विनय आचार्यलाई निमित्त कार्यकारी प्रमुख तोकेको थियो ।
निमित्त तोक्ने अधिकार बोर्ड सञ्चालक समितिलाई मात्रै भएको छ । यसअघिको निर्णयकै आधारमा आचार्यले निमित्त प्रमुखको भूमिका निर्वाह गर्दै आएको छ । तर अर्थ मन्त्रालयले अर्का कार्यकारी निर्देशक नवराज अधिकारी निमित्त तोक्नेगरी पत्र पठाएपछि अन्योलता सिर्जना भएको हो ।
मन्त्रालयबाट पत्र आएपछि अन्योलता सिर्जना भएपछि कार्यकारी निर्देशकहरुसहित उच्च तहका कर्मचारीको बैठक बसेको छ । बैठकमा को निमित्त ? भन्ने कुरामा विवाद र छलफल भएको सेबोन स्रोतको भनाई छ । अधिकारीले आफू बरिष्ठ भएकाले आफू नै निमित्त भएको दावी प्रस्तुत गरेका थिए भने आचार्यले यसअघि बोर्ड बैठकले आफूलाई निमित्त तोकिसकेको अवस्थामा अर्को बोर्ड बैठकले निर्णय नगर्दासम्म मन्त्रालयले पत्र पठाउँदैमा अर्को व्यक्ति निमित्त हुन नसक्ने तर्क गरेका थिए । बोर्ड स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप गर्न नमिल्ने यसअघिका सेबोनका अध्यक्षहरुले बताउँदै आएका छन् ।
यस विषयमा आज सोमबार थप छलफल हुँदैछ । आज नै सञ्चालक समितिको बैठक बस्नसक्ने यो विवादको निकास निकाल्नसक्ने देखिएको छ । स्रोतका अनुसार सञ्चालक समितिले निर्णय नगर्दासम्म अधिकारीले निमित्तको रुपमा भूमिका निर्वाह गरे पनि त्यसको बैधानिकता हुँदैन् । हमालले अवकाश पाएपछि उनले चयन गरेका निमित्त कार्यकारी प्रमुख आचार्यप्रति अर्को पक्षले आशंका गर्दा बोर्डको कामकारवाही प्रभावित हुन पुगेको छ ।
सरकारले बोर्डको अध्यक्ष नियुक्तिको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थसचिव र एकजना विज्ञ सदस्य रहेको सिफारिस समिति बनाइसकेको छ । समिति अध्यक्ष छनोटको लागि आवश्यक कार्यविधि तर्जुमा गरेर अध्यक्षको लागि आवेदन माग गर्नेछ ।