काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले फागुन १ गतेदेखि ऋणपत्र निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत एनआइएमबी डिबेन्चर २०९०’ निष्कासन गर्न लागेको हो ।
बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ४ अर्ब ४ करोड रुपियाँबराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । सोमध्ये ६० प्रतिशत अर्थात् २ अर्ब ४२ करोड ४० लाख रुपियाँबराबरको २४ लाख २४ हजार कित्ता ऋणपत्र व्यक्तिगत रूपमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १६ लाख १६ हजार कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार ८०० कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा फागुन ४ गते हुनेछ भने ढिलोमा फागुन १५ गते हुनेछ ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
ऋणपत्र निष्कासनका लागि बैंकले इक्रा एनपी इस्युअर रेटिङ ‘ए प्राप्त गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमता रहेको संकेत गर्दछ ।