काठमाडौं । रिडी पावर कम्पनीले फागुन १८ गतेदेखि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गर्ने भएको हो ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख रुपियाँको ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँ अंकित दरमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री गर्नेछ ।
हकप्रद निष्काशनपछि कम्पनीको पुँजी २ अर्ब ३२ करोड ३३ लाख ५१ हजार रुपियाँ पुग्नेछ । जसबाट संकलन भएको रकमले तल्लो बलेफी जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ माघ २२ गते बुकक्लोज गरेको थियो । त्यसैले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरमा चैत ८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।