बैतोडा गाउँका एक्ला किसान, जो थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्छन्
प्रतीकात्मक तस्बिर ।

Advertisement

कञ्चनपुर । वेदकोट नगरपालिका–४ बैतोडाका गाउँमा व्यावसायिक तरकारीखेती गर्ने एक्ला किसान दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहज रूपमा चलाउँदै आएका छन् । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उनले वर्षमा रु दुई लाख बढी आम्दानी गर्दै आएका छन् । 

बाह्रै महिना बोहराको बारीमा तरकारीखेतीमात्रै हुने गरेको छ । तरकारीखेतीबाटै खर्च चल्न थालेपछि विगतमा जस्तो उहाँलाई अहिले घरखर्च चलाउन भारत जानुपरेको छैन । कोरोना महामारीका कारण भारतीय सहर बैङ्गलोरमा सेल्समेनको जागिर छुटेपछि बोहरा तीन वर्षअघि घर फर्किएका हुन् । घर फर्केपछि बोहराले तीन वर्षदेखि व्यावसायिक रूपमा तरकारीखेती गर्दै आएका छन् । तरकारीखेतीबाटै उनको परिवारको घरखर्च सहज रूपमा चल्न थालेको छ ।

Advertisement

‘विगतमा भारतमा काम गरेर घरखर्च चलाउँदै आएको थिएँ । महिनाको रु १०–१२ हजार जति हुन्थ्यो,’ बोहराले भन्छन्, ‘कोरोनाका कारण कम्पनी बन्द भएपछि बेखर्ची भएर घर फर्कें । फर्केर केही दिन मजदुरी गरेँ, त्यसबाट घरखर्च चलाउन सकिने अवस्था भएन । त्यही सिलसिलामा मोबाइलमा युट्युब हेर्थें । थोरै जग्गामा पनि मौसमी बेमौसमी तरकारीखेती गरेर मनग्य आम्दानी गरेको देखेँ, त्यसपछि तरकारीखेती गर्ने निधो गरेँ, तरकारी खेती त गर्ने कसरी गर्ने भन्ने प्रश्न उब्जिन थाल्यो ।’

‘तरकारीखेती सुरु गर्नका लागि बीउबिजन, मलखाद खरिद गर्ने पैसा  थिएन, जेजस्तो होला भन्ने भावना मनमा पैदा भयो,’ बोहरा भन्छन्, ‘साथीभाइ र छिमेकीबाट सापटी लिएर युट्युबबाट तरकारी लगाउने विधि सिक्दै तरकारी रोपेँ, पहिलो सिजनमै सापटी लिएको पैसा तिर्न भ्याएर र घरखर्च चल्नेसम्मको आम्दानी भयो ।’

बोहराले तरकारीखेती गर्ने जग्गा भने चार कठ्ठा जति मात्रै छ । त्यहीँ जग्गामा काउली, गोलभेँडा, काँक्रा, तितेकरेला, बोडी, आलुलगायत तरकारी मौसमी र बेमौसमीरूपमा लगाउँदै आएका छन् । तरकारीखेतीबाट आएको आम्दानी खर्च गरेर उहाँले दुईवटा प्लाष्टिक टनेल निर्माण गरेका उनले आलुलगायतका मौसमी तरकारी टनेल बाहिरै रोपेर उहाँले आम्दानी गर्दै आएका छन् । अन्य लहरे तरकारी टनेलभित्रै रोप्ने गर्छन् । 

तरकारीखेतीकै लागि उहाँले वर्षमा रु ६५ हजार बढी लगानी गर्दै आएका छन् ।  लगानी कटाएर वर्षमा रु एकदेखि रु एक लाख ८० हजारसम्म आम्दानी गर्दै आएका उनले तीन जनाको परिवारका लागि लत्ताकपडा, खाद्यान्न र अन्य खर्च चल्ने गरेको बताए । 

‘श्रीमतीले दिउँसो निजी विद्यालयमा काम गर्छिन्,’ बोहराले भने, ‘तलबबापत आउने रकम र तरकारी बिक्री गरेर आउने रकमले तीन जनाको परिवारको घरखर्च सहज रूपमा चल्छ, विद्यालयबाट फर्केपछि श्रीमतीले पनि तरकारीखेती गर्नमा सघाउने गरेकी छिन् ।’

उत्पादित तरकारी अधिकांश बारीबाटै बिक्री हुने गरेको छ । बिक्री हुन नसकेका तरकारी बोहरा साइकलमा राखेर गाउँ डुलाउँदै बेच्छन् । तरकारीखेतीमै भविष्यका सपना बुन्न थालेकाले थप जग्गा भाडामा खोजेर ठूलो परिमाणमा तरकारी उत्पादन गर्ने धोको रहेको बोहराको भनाइ छ ।

 

Advertisement

Advertisement