काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत ११ वटा जलविद्युत कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेका छन् । कात्तिक १४ गतेसम्म लाभांश घोषणा गर्ने कम्पनीहरुमा सुपरमाई हाइड्रोपार लिमिटेड, माण्डू हाईड्रोपावर लिमिटेड, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, साहस उर्जा लिमिटेड, सुपर मादी हाइड्रोपावर लिमिटेड रहेका छन् ।
यसैगरी मन्दाकिनी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनी, एपीआई पावर कम्पनी, सगरमाथा जलविद्युत कम्पनी र विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले पनि आर्थिक वर्ष २०८०/८१ को लाभांश वितरणको घोषणा गरेका छन् ।
यी कम्पनीहरुले न्यूनतम ३.१५७ प्रतिशतदेखि अधिकतम् १५.७८९ प्रतिशतसम्म लभांश वितरणको घोषणा गरेका छन् ।
कसले कति गरे घोषणा ?
घोषित लाभांश अनुसार सबैभन्दा बढी रुरु जलविद्युत परियोजना लिमिटेडले १५.७८९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । परियोजनाले १५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद वितरणको प्रस्ताव गरेको हो ।
यो अघिल्लो वर्ष कम्पनीले वितरण गरेको लाभांशको तुलनामा ५.२६२७ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०७९/८० का लागि कम्पनीले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
आर्थिक वर्ष २०८०/८१ का लागि सबैभन्दा कम लाभांश वितरणको घोषणा गर्नेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । कम्पनीले आर्थिक वर्षका लागि जम्मा ३.१५७ प्रतिशत मात्र लाभांश वितरणको घोषणा गरेको छ । तथापि, नगद नभएर यो वर्ष कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो ।
यसैगरी सुपरमाई हाईड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८०/८१ का लागि ७ प्रतिशत बोनस शेयरसहित ५.६३ प्रतिशत नगद गरी कूल १२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।
माण्डू हाईड्रोपावर लिमिटेडले १२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने भगवती हाइड्रोपावर डेभलपेन्ट कम्पनी लिमिटेडले ४ प्रतिशत बोनस शेयर र १०.७३६८ प्रतिशत नगद गरी कूल १४.७३६८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । हालसम्म घोषित हाईड्रोपावर कम्पनीहरुको लाभांशमा यो रुरु जलविद्युत परियोजनापछिको दोस्रो ठूलो हो ।
कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० का लागि १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यसैगरी, साहस उर्जा लिमिटेडले आर्थिक वर्षका लागि ८ प्रतिशत बोनस शेयरसहित ०.४२१ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । अघिल्लो वर्ष कम्पनीले कुनैपनि लाभांश वितरण गरेको थिएन ।
यसैगरी सुपर मादी हाइड्रोपावर लिमिटेडले आर्थिक वर्षका लागि ५ प्रतिशत बोनस शेयरसहित ०.२६ प्रतिशत नगद लाभांश वितरण गरेको छ भने मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ५ प्रतिशत बोनस शेयरसहित ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यता एपीआई पावर कम्पनीले ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गर्दा सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले ४.७५ प्रतिशत बोनस शेयरसहित ०.२५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।
विन्दवासिनी हाइड्रोपावर डेभलपेन्ट कम्पनी लिमिटेडले भने आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत बोनस शेयर वितरणको मात्र घोषणा गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ५.२६३२ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।
प्रस्तावित लाभांश नियामक धितोपत्र बोर्डबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुमा वितरण हुन्छ ।