चितवन । स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन (एफआरए) मा देशभरका पालिकामध्ये खैरहनी नगरपालिकाले उच्चतम अंक प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको मूल्यांकन खैरहनीले ९९ अंक प्राप्त गरेर उच्चतम प्रदर्शन गर्ने स्थानीय तह भएको हो ।
मूल्यांकनका विभिन्न विषय क्षेत्रका सूचकहरू पूरा गर्दै खैरहनीले उच्चतम अंक प्राप्त गर्न सफल भएको नगरप्रमुख शशि खनियाले जानकारी दिए । योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण, राजस्व व्यवस्थापनजस्ता मूल्यांकनका विषयक्षेत्रमा खैरहनीले उत्कष्ट अंक ल्याउन सफल भएको बताइएको छ । एक सय पूर्णांकमा खैरहनी नगरपालिकाले ९९ अंक ल्याएको छ ।
अघिल्ला वर्षहरूमा जिल्लाको प्रथम हुँदै आएकामा यस वर्ष देशको प्रथम हुन सफल भएको उनले बताए। अनियमितता कम भएका कारण यस पालिका पहिलो भएको उनले बताए । उनले भने, ‘सबै कुराको व्यवस्थापन गर्न कठिन छ । त्यसलाई व्यवस्थापन गर्दै अघि बढ्न सके र कानुनसम्मत चल्न सके सफल भइँदो रहेछ ।’
राजनीतिक दल र जनताको भावना बुझेर काम गर्दा यो परिणाम प्राप्त गर्न सफल भएको उनको भनाइ छ ।
स्थानीय तहको वित्तीय प्रणाली व्यवस्थित, पारदर्शी, विधिसम्मत र प्रभावकारी बनाउन स्थानीय वित्त व्यवस्थापनको सम्भावित जोखिमका क्षेत्रहरूको पहिचान गरी त्यसको लेखाजोखाको माध्यमबाट स्थानीय तहको वित्तीय सुशासनलाई संस्थागत गर्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन गरिँदै आएको छ ।