अन्नपूर्ण होटलको २० प्रतिशत स्वामित्व मीनबहादुर गुरुङ र उमेश श्रेष्ठलाई चार अर्बमा बिक्री

Advertisement

काठमाडौं । दरबारमार्गस्थित अन्नपूर्ण होटलको २० प्रतिशत स्वामित्व दुई जना व्यवसायी मीनबहादुर गुरुङ र उमेश श्रेष्ठले चार अर्ब रुपियाँमा किन्ने सहमति गरेका छन् । 

शेयर खरीद बिक्रीका लागि दुवै पक्षबीच गएको फागुन ९ गते समझदारीपत्र (एमओयू)मा गोप्यरुपमा हस्ताक्षर भएको हो । समझदारी भएसँगै बैनावापत गुरुङ र श्रेष्ठले होटलका मालिकहरु कपिल राणा र सिर्जना मल्ललाई २० करोड रुपियाँ बुझाएको स्रोतको भनाई छ । आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले पनि सो होटलको शेयर किन्न इच्छा राखेका थिए । तर अन्तिममा कुरा नमिलेपछि उनी बाहिरिएका थिए । फागुन ९ को सम्झौताअघि नै उनीहरुबीच शेयर किनबेचको भद्र सहमति भइसकेको थियो । पछिल्लो समझदारीमा पनि सबै प्रोमोटरको सहमति लिन बाँकी रहेकाले यसले वैधानिकता पाउँछ भन्ने हतार हुने देखिन्छ । 

Advertisement

होटलको नाममा हिमालय बैंकमा करिव दुई अर्ब ऋण रहेको छ । कोरोना महामारीपछि आर्थिक संकटलाई कारण देखाउँदै मल्लले होटल बन्द गरेर मजदुरहरु निकाल्न थालेकी थिइन् । होटल परिसरमा क्यासिनोलगायतका अन्य व्यवसाय सञ्चालन भए पनि होटलको सेवा भने पूर्णरुपमा अहिले सञ्चालन छैन् । चार बर्षदेखि सयौं मजदुरलाई दिनुपर्ने सेवा सुविधाको दायित्व करोडौं बाँकी रहेको अवस्थामा भएको समझदारी सार्थक हुन सकेमा भाटभटेनीको अर्को स्टोरसँगै पाँचतारे होटल नयाँ रुपमा निर्माण हुनेछ । 

एमओयूअनुसार पार्किङ, व्याङक्वेट हल, सपिङ मल, फिल्म हल र होटल अन्नपूर्णको पुनर्निर्माण गरिने छ । यसअघि तत्कालिन मेगा बैकको कर्पोरेट अफिस रहेको भवन र जग्गा गुरुङले मेगा सर्नुअघि नै खरीद गरिसकेका थिए । सो खण्डमा अब सपिङ कम्प्लेक्स बन्ने छ । यसअघि अन्नपूर्ण होटलमा ९० प्रतिशत स्वामित्व कपिल र सिर्जनाको थियो भने पाँच प्रतिशत सरकार र बाँकी पाँच प्रतिशत अरुको थियो । सुरुमा कपिल राणाको ०.०१ प्रतिशत र हेलेन शाहकी छोरी जयन्तीको ०.०१ प्रतिशत मात्रै स्वामित्व रहेको सो होटलको स्वामित्व राजदरबार हत्याकाण्डपछि कपिलले एकाएक ९० प्रतिशत पुर्याउन सफल भएका थिए । 

शेयर खरीद बिक्रीको एमओयू भएकै दिन विशेष अदालतले बालुवाटारको सरकारी जग्गा अनियमितता प्रकरणमा भाटभटेनी सुपरस्टोरका सञ्चालक समेत रहेका गुरुङलाई दोषी ठहर गर्दै दुई बर्ष जेल र ८० लाख रुपियाँ जरिवानाको फैसला गरेको थियो । यद्यपि एमओयू गर्दा अदालतको फैसला आइसकेको थिएन् । अर्का व्यवसायी श्रेष्ठ स्कुल सञ्चालक तथा जलविद्युतका लगानीकर्ता हुन् । उनी नेपाली कांग्रेसबाट यसअघि साँसद र मन्त्री समेत भएका थिए । तर गुरुङ र श्रेष्ठले कति–कति प्रतिशत स्वामित्व लिएको हो ? स्रोतले खुलाउन चाहेन् । 

होटलको स्वामित्व खरीद बिक्रीको एमओयू हुने दिन कपिल राणा, उनकी श्रीमती सिर्जना मल्ल, छोरी केत्या, व्यवसायीहरु मीनबहादुर गुरुङ, उमेश श्रेष्ठ, चन्द्र ढकाल बैठकमा सहभागी रहेको स्रोतले जानकारी दियो । 

अन्नपूर्ण होटलमा श्रेष्ठको समेत सहभागिताले त्यसमा नेपाली कांग्रेसकी नेतृ तथा सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको समेत अदृश्य लगानी हुनसक्ने अनुमान गरिएको छ । यसअघिका सबै अप्ठ्याराहरु आरजुले नै फुकाइदिँदै आएकी थिइन् । अन्नपूर्ण होटलले आफूहरुले पाउनुपर्ने उपदान, तलब, भत्ता, बिरामी बिदा, सञ्चय कोषको पैसा नदिएको भन्दै सो होटलका मजदुरहरु लामो समयदेखि आन्दोलित छन् । उनीहरुले होटलविरुद्ध मुद्दा समेत हालेका छन् ।

यस एमओयूबारेमा होटलका महाप्रवन्धक अन्जन बगालेले भने खुल्न चाहेनन् । उनले शेयर किनबेचका लागि विभिन्न पक्षसँग कुराकानी भइरहेको स्वीकार गर्दै सम्झौता भएपछि आधिकारिकरुपमा जानकारी दिने बताए । यसअघि भएको शेयर खरीद बिक्रीको समझदारीअनुसार नै होटलको डेढ लाख कित्ता शेयर बिक्रीमा रहेको भनेर प्रोमोटरहरुलाई आज (बुधबार) लिखित जानकारी दिने काम भएको छ । अन्नपूर्ण होटल परिसरको जग्गामा हदबन्दी र स्वामित्व विवादका कारण लामो समयदेखि बिक्री गर्न चाहेर पनि कपिल राणा र सिर्जना मल्लले बिक्री गर्न सकेका थिएनन् । 

Advertisement