फोहोरको डंगुरमाथि बसेर शुद्धताको मन्त्रोचारण गरेको सुहाउँदैनः लिङदेन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सहभागी नहुने स्पष्ट पारेका छन् । 

बुधबार संसदमा बोल्दै उनले स्वार्थहरुको गठजोडबाट बनेको सत्तारुढ गठबन्धन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि आफ्नो पार्टीले विश्वासको मत दिन नसक्ने बताए । 

Advertisement

प्रधानमन्त्री दाहालको विश्वास मतसम्बन्धी प्रश्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङदेनले सत्ता केन्द्रीत नयाँ सत्तासमीकरण भएकाले यसले आफूलाई देश र जनताको पक्षमा नभई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने जिकिर समेत गरे । उनले सत्तारुढ गठबन्धनले प्र्रश्तुत गरेको ७ बूँदे सम्झौता देश र जनताको हितमा नरहेको पनि बताए । 

लिङदेनले भने, ‘जतिसुकै सिद्धान्त र दर्शनको लेप लगाएपनि अहिले भएको सत्ता हेरफेर भनेको स्वार्थको गठजोड हो । स्वार्थ मिले टाँसिने, नमिले छुट्टिने । त्यो सत्ता निर्माण हुँदाखेरी बनेको ७ बुँदै, ८ बुँदे सहमति हेर्दा पनि त्यही देखिन्छ । देशलाई, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्ताको भागबण्डा, अनि कसले केके बाट सुरक्षित हुनुपर्ने हो ? यो सत्तालाई आफ्नो सुरक्षा कवजको रुपमा प्रयोग गर्ने उद्देश्यद्वारा यो गठबन्धन निर्माण भएको हो । यसमा केही धेरै भनिराख्नु पर्दैन ।’  

उनले थपे, ‘त्यो परिमार्जित ७ बुँदा होस वा ८ बुँदा होस् । त्यसले छर्लङग पार्छ । त्यसकारण राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा पनि भनि सकेको छ– यो सत्ता केन्द्रित चलखेलमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन । र यो सत्ता केन्द्रित र मैले अगाडि भनेका विषयहरुमा केन्द्रित गठबन्धनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिँदैन ।’

नयाँ गठबन्धन स्वार्थको गठजोड भएको बताउँदै लिङदेनले भने, ‘त्यो सत्ता निर्माण हुँदा गरेको ८ बुँदे, ७ बुँदेबाट पनि त्यही कुरा देखिन्छ । देश, जनताको वर्तमान परिस्थितिलाई केन्द्रमा राखेर यो सरकार बनेको होइन । सत्तालाई आफ्नो सुरक्षा कबजका रुपमा प्रयोग गर्ने उद्देश्यद्धारा गठबन्धन बनेको हो ।’ 

अघिल्लो वर्ष छोटो समय सत्तामा सहकार्य गर्दा प्रधानमन्त्रीले चाल फेर्न लागेको थाहा पाएपछि आफूले जीवनको अन्तिम गल्ती पनि हुनसक्छ भनेको उनले स्मरण गरे । लिङदेनले थपे, ‘यहाँसम्म तानेर आइपुग्नु भएको छ । म फेरि पनि भन्छु, प्रधानमन्त्रीको जीवनको अन्तिम गल्ती यो नहोस् ।’

मानिसले जीवनमा गल्ती गर्ने र त्यसलाई सच्याएर अगाडि बढ्ने भन्दै राप्रपा अध्यक्ष लिङ्देनले  ‘कहिलेकाहीँ गल्ती यस्तो हुन्छ, फेरि सच्याउँछु भन्दा सच्याउने मौका हुँदैन । त्यस्तो नहोस्’ भने । 

राप्रपा सत्ता केन्द्रित चलखेलमा सहभागी नहुने र प्रधानमन्त्रीलाई विश्वासको मत पनि नदिने लिङ्देनले प्रष्ट पारे । सत्तामा नमिल्नासाथ अछूत जस्तो गर्ने, मिलेपछि महान मान्ने प्रवृत्ति रहेको बताउँदै उनले कुनै गठबन्धन बन्दा वा छुट्दा पनि राजनीतिक कारण भए मात्र मानिसहरुले आश गर्नसक्ने बताए । 

अब कसैले पनि रोष्टममा उभिएर सुशासनको गफ दिँदैमा नपत्याउने उनले बताए । लिङ्देनले भने, ‘फोहोरको डंगुरमाथि बसेर शुद्धताको मन्त्रोचारण सुहाउँदैन ।’

Advertisement

Advertisement