काठमाडौं । सहकारी ठगी तथा बचत रकम अपचलनको मुद्दामा एकपछि अर्को उच्च पदस्थ व्यक्ति (हाइप्रोफाइल)हरुको नाम जोडिन थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको नाम सेलाउन नपाउँदै नेपाली काँग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ र सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा एमालेका नेता ऋषिकेश पोखरेलको नाम समेत जोडिन पुगेको हो ।
ऋषिकेश पोखरेल
नेता पोखरेल मोरङको धनपालनाथ गाउँपालिका ४ कर्सियास्थित उमागौरी कृषि सहकारी संस्थाबाट १२ करोड रुपियाँ हिनामिनाको मुद्दामा मुछिएका छन् । पत्नी अञ्जला कोइराला कुनै समय उक्त सहकारीको सञ्चालक रहेको र सोही बेला सभापति पोखरेलको समेत संलग्नतामा सहकारीको १२ करोड रुपियाँ हिनामिना भएको घटना बाहिरिएको छ ।
तत्कालिन समयमा सहकारीले विभिन्न बैंकसँग ऋण लिएको तर समयमा नै भुक्तानी दिन नसक्दा जमानी बसेकी कोइरालालाई बैंकले कालोसूचीमा राखेपछि घटना बाहिर आएको हो । सहकारीको बचत रकम अपचलन तथा हिनामानामा कोइरालाका पति एवं सार्वजनिक लेखा समिति सभापति ऋणकेश पोखरेलको समेत संलग्नता रहेको जानकारहरु बताउँछन् ।
धनराज गुरुङ
सहकारी ठगी काण्डमा हालैमात्र चर्चामा आएका अर्का हाइप्रोफाइल हुन् नेता गुरुङ । जतिबेला सहकारी ठगी काण्डमा रास्वपाका सभापति रवि लामिछानेको नाम जोडिएर माहौल तातेको थियो, त्यतिबेला छानविन गर्न तीब्र माग गर्नेहरुमध्येमा गुरुङ अग्रपंक्तिमा थिए । अझ, गुरुङकै पार्टी नेपाली काँग्रेसले रविविरुद्ध सहकारी ठगीको छानविन गर्न संसदीय समिति बनाउन माग गर्दै झण्डै एक महिना लामो संसद अवरोध गरेको थियो ।
अन्ततः सरकार समिति बनाउन बाध्य भयो । सांसद सूर्य थापा नेतृत्वको सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानविन विशेष समितिले अहिले आफ्नो अध्ययनको अन्तिम प्रतिवेदन बुझाउने प्रयास गर्दैछ । यसैबेला सहकारी ठगीको छानविन समितिको माग गर्ने काँग्रेस नैतिक संकटमा परेका छन् ।
बेलायती र भारतीय सेनामा काम गरेका पूर्वसैनिकहरु मिलेर ललितपुर– ५ महालक्ष्मी स्थानमा कार्यालय रहने गरी खोलिएको मितेरी सहकारीमा गुरुङको पूर्वपत्नी ज्योति गुरुङसहित पाँच जनाले साढे १२ करोड रुपियाँ हिनामिना गरेको आरोप लागेको छ ।
२०७६ मा नै धनराज गुरुङले श्रीमती ज्योतिसँग सम्वन्ध विच्छेद गरेको बताइए पनि सहकारी ठगीको घटना पहिले नै भएको भन्दै यतिबेला उक्त ठगीमा पूर्वमन्त्री गुरुङको समेत संलग्नता रहेको चर्चा चलेको छ । गुङकी पत्नी ज्योति तत्कालिन समयमा मितेरी सहकारीको महाप्रबन्धक थिएन् । मितेरी सहकारीको साढे १२ करोड हिनामिना गरेको भन्दै सहकारीका सचिव बोधबिक्रम थापाले गत आइतबार महाप्रबन्धक ज्योति गुरुङसहित पाँच जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएपछि यो घटना बाहिरिएको हो ।
तथापि, नेता धनराज गुरुङले पूर्वपत्नीसँग आफूले २०७६ मा नै सम्वन्ध विच्छेद गरिसकेको र उनको हरहिसाब, कारोबारको सम्बन्धमा आफूलाई कुनै जानकारी पनि नभएको, मतलब पनि नभएको बताएका छन् । सहकारी ठगीमा पूर्वपत्नीसँग जोडेर आफ्नो नाम चर्चामा आएसँगै उनले एक टेलिभिजन कार्यक्रममा अन्तरवार्ता दिँदा भाबुक भएका थिए ।
रवि लामिछाने
सहकारी ठगी मुद्दामा हालसम्म सबैभन्दा बढी कसैको नाम चर्चामा छ भने रास्वपा सभापति लामिछाने कै छ । पूर्व व्यापार साझेदार गिजेन्द्रबाबु (जीवी) राईसँगको कारोबार र सहकार्यले उनलाई नैतिक संकटमा पुर्याएको छ ।
ग्यालेक्सी टिभी सञ्चालन गर्ने गोर्खा मिडिया प्रा.लि.का अध्यक्ष समेत रहेका जीवी राईले विभिन्न सहकारीबाट अर्बौं रुपियाँ दुरुपयोग गरेको कारोबारहरुले पुष्टि गरेको छ । सोही टेलिभिजनका तत्कालिन प्रबन्ध निर्देशक रवि लामिछानेको नाममा समेत विभिन्न सहकारीबाट रकम भुक्तानी गरिएका प्रमाणहरु भेटिएका छन । यद्यपि लामिछानेले ती सबै कारोबारमा आफ्नो कुनै संलग्नता नरहेको, आफूले सहकारीको रकम पनि नलिएको, ऋण पनि नलिएको बताउँदै तर राईले भने सहकारीको रकम अपचलन रहेको स्वीकार गरेका छन् ।
पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी लगायत आधा दर्जन सहकारी संस्थाहरुबाट ग्यालेक्सी टेलिभिजनमा पैसा गएको खुलेको छ । काँग्रेसको दबाबपछि लामिछानेमाथि नै लक्षित गरेर संसदीय छानविन समिति बनाइए पनि समितिले अहिलेसम्म लामिछानेलाई दोषी औंल्याइसकेको छैन् । समितिले लामिछानेसँग एक दिन नौ घण्टा लामो बयान समेत दिएको छ ।