काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा शेयर कारोबार रकम ४६.८ प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)बाट तथ्यांकले लिएर नेपाल राष्ट्र बैंकले तयार गरेको एक प्रतिवेदनले नौ महिनामा नेप्सेमा चार खर्ब ७३ अर्ब ६० लाख रुपियाँ बराबरको कारोबार भएको छ ।
यो गत आवको सोही अवधीको तुलनामा ४६.८ प्रतिशतले बढी हो । गत आवको सोही अवधीमा तीन खर्ब २२ अर्ब ११ करोड ३७ लाख रुपियाँ बरारबको शेयर कारोबार भएको थियो ।
गत आवको तुलनामा चालु आवमा शेयर बजारको इन्डेक्स (नेप्से परिचसुक) केही बढेको छ । गत आवको सोही अवधीमा नेप्सेको क्लोजिङ इन्डेक्स १९३४.४८ थियो । त्यसबेला नेप्सेको अधिकतम् विन्दु भने २२११.७७ थियो ।
चालु आवको समीक्षा अवधीमा नेप्सेको क्लोजिङ इन्डेक्स २०२५.७ रहेको छ । यसैगरि नेप्सेको अधिकतम् विन्दु पनि गत आवको सोही अवधीको भन्दा धेरै अर्थात् २२२७.२ रहेको छ । यसरी शेयर बजार सामान्य रुपमा बढ्दा कारोबार पनि बढेको छ । बजार बढ्दा लगानीकर्ताले नाफा कमाउने सम्भावना उच्च हुन्छ । त्यसले गर्दा कारोबार रकम बढेको विज्ञहरु बताउँछन् ।
तथ्यांकअनुसार यसमा हाइड्रो पावर कम्पनीका शेयर कारोबारको हिस्सा सबैभन्दा धेरै देखिएको छ । समीक्षा अवधीमा हाइड्रोपावर कम्पनीका एक खर्ब ४० अर्ब ५२ करोड ३१ लाख रुपियाँ बराबरको शेयर खरीद बिक्री भएको छ । कुल शेयर कारोबारमा हाइड्रोपावर क्षेत्रको हिस्सा २९.७ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
पछिल्लो समय नेपाली शेयर बजारमा जलविद्युत् कम्पनीहरुको हिस्सा बढ्दो छ । पछिल्लो समय सर्वसाधारणलाई शेयर (आईपीओ) जारी गर्ने कम्पनीमा पनि अधिकांश जलविद्युत् कम्पनी नै छन् । यी यस्ता कारण शेयर कारोबारमा जलविद्युत् क्षेत्रको हिस्सा उच्च देखिएको जानकारवालाहरु बताउँछन् । अहिले शेयर बजारमा ९१ वटा जलविद्युत् कम्पनी सुचीकृत छन् ।
सुचीकृत कम्पनीको संख्याको आधारमा शेयर बजारमा जलविद्युत् क्षेत्रकै हिस्सा बढी छ । दोस्रोमा स्थानमा भने बाणिज्य बैंकको शेयर कारोबार देखिएको छ । समीक्षा अवधीमा बाणिज्य बैंकका ४९ अर्ब ३६ करोड ७५ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री भएको छ । कुल कारोबार रकममा बाणिज्य बैंकको हिस्सा १०.४ प्रतिशत रहेको छ । हाल १९ बाणिज्य बैंक शेयर बजारमा सुचीकृत छन् ।
तेस्रो स्थानमा भने जीवन बीमा कम्पनीहरुको शेयर कारोबार रहेको छ । तथ्यांकअनुसार यसको हिस्सा ९.४ प्रतिशत रहेको छ । समीक्षा अवधीमा जीवन बीमा कम्पनीका ४४ अर्ब ५६ करोड ८ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । पछिल्लो समय शेयर बजार सुधार भएन भनेर उच्च मात्रामा टिका टिप्पणी भइरहेको छ ।
तर, यस्ता तथ्यांकले शेयर बजारमा सुधार आएको संकेत गर्ने जानकारवालाहरु बताउँछन् ।तथ्यांकअनुसार म्युचल फण्ड र डिवेञ्चरको कारोबार भने एकदमै कम देखिएको छ । समीक्षा अवधीमा एक अर्ब ३६ करोड रुपियाँ बराबरको म्यूचलन फण्डको कारोबार भएको छ । यसैगरी एक अर्ब ४७ करोड ७४ लाख बराबरको डिवेञ्चर खरीद बिक्री भएको तथ्यांकमा उल्लेख छ ।
कुन क्षेत्रका कति शेयर कारोबार ?