फोर्ब्सको ‘थर्टी अन्डर थर्टी’ को सूचीमा नेपालकी श्रिया गिरी समावेश

Advertisement

काठमाडौं । विश्वप्रसिद्ध म्यागेजिन फोर्ब्सले नेपालकी २८ वर्षीया श्रिया गिरीलाई ‘थर्टी अन्डर थर्टी एसिया–२०२४’ सूचीमा समावेश गरेको छ । 

म्यागेजिनले ‘थर्टी अन्डर थर्टी एसिया–२०२४’ को सोसल इम्प्याक्ट अर्थात् सामाजिक प्रभाव क्याटेगोरीमा गिरीलाई समावेश गरेको हो । 

Advertisement

गिरी नेपाली डिजिटल मानसिक स्वास्थ्य प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक तथा प्रबन्ध निर्देशक हुन् । बेलायतको मिडिलसेक्स युनिभर्सिटी लन्डन साउथ ब्यांकबाट पढाइ सकेपछि मानसिक रोगलाई लिएर गरिने निषेधको घेरा तोड्ने अभियानमा उनी नेपाल फर्किएकी हुन् ।

ह्याप्पी माइन्ड्सले व्यक्तिगत अनलाइन र प्रत्यक्ष परामर्शका साथै सामूहिक कार्यशाला  प्रदान गर्दै आइरहेको छ । त्यसैगरी, युनिलिभर नेपाल, लीपफ्रग र ब्रिटिश कलेजजस्ता संस्थासँग सहकार्य गरी निःशुल्क मनोवैज्ञानिक परामर्श दिने काम गर्छ । 

ह्याप्पी माइन्ड्स सन् २०२२ को सार्क स्टार्टअप अवार्डमा नेपालबाट उत्कृष्ट नवागन्तुक घोषित भएको थियो ।

साथै, गिरीले सन् २०२३ मा बैंककमा भएको युथ कोल्याब समिटमा नेपालको प्रतिनिधित्वसमेत गरेकी थिइन् । 

फोर्ब्सले यो वर्ष (सन् २०२४) मा थर्टी अन्डर थर्टी एशियाको सूचीमा उद्यमी, कलाकार र परिवर्तनकर्तालाई समेटेको छ । आ–आफ्नो क्षेत्रको परिवर्तनकारी नेतृत्व गर्दै आफ्नो पुस्तालाई प्रेरणा दिइरहेकालाई सूचीमा समेटिएको फोर्ब्सले जनाएको छ । 

फोर्ब्सले समेटेका विधामा इन्टरटेनमेन्ट एन्ड स्पोर्ट्स, फाइनान्स एन्ड भेन्चर क्यापिटल, इन्टरप्राइज टेक्नोलोजी रहेका छन् ।

त्यस्तै, मिडिया मार्केटिङ एन्ड एडभर्टाइजिङ, कन्जुमर टेक्नोलोजी; इन्डस्ट्री, म्यानुफ्याक्चरिङ एन्ड इनर्जी, द आर्टस्, सोसल इम्प्याक्ट, रिटेल एन्ड इकमर्स तथा हेल्थकेयर एन्ड साइन्स विधामा पनि रूपान्तरणकारी नेतृत्व गर्ने प्रभावशाली व्यक्तिलाई समेटेको फोर्ब्सले जनाएको छ ।

पूरै सूची यहाँ क्लिक गरी पढ्नुहोस् ।

Advertisement