बजेट आउने अघिल्लो दिन शेयर बजारमा झिनो सुधार, ३ अर्ब ८९ करोडको कारोबार

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ को बजेट आउने अघिल्लो दिन शेयर बजारमा झिनो सुधार देखिएको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.९३ अंकले उचालिएको हो । ०.१८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २११३.२७ अंकमा उक्लिएको छ ।

Advertisement

समग्रमा बजार बढे पनि बैंकिङ समूह ०.७४ र निर्जीवन बीमा समूह ०.२२ प्रतिशतले घटेका छन् । बाँकी समूहमा हरियाली छाएको छ । लगानी समूह सबैभन्दा बढी १.८० प्रतिशतले बढेको छ । 

आज ३१७ कम्पनीका ९३ लाख ३० हजार २ सय ९५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८९ करोड ३७ लाख ६४ हजार १ सय ४३.९३ रुपियाँ बराबरको कारोबार भएको छ । 

मुक्तिनाथ कृषि कम्पनी, नेपाल वायरहाउजिङ कम्पनी, कालिञ्चोक दर्शन लिमिटेड, पोखरा फाइनान्स र ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड१ का लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.७९, ८.४० र ८.१३ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै बुद्धभूमि नेपाल हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट कम्पनीको उच्च कारोबार भएको छ । उक्त कम्पनीको २० करोड ४० लाख ४७ हजार ४ सय ३४ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २२.१४ अंकले बजार घट्दा ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१.७० रुपियाँ बराबरको कारोबार भएको थियो । 

भोलि बुधबार गणतन्त्र दिवसको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहने छ । भोलिनै आगामी आवको बजेट पनि सार्वजनिक हुँदैछ । 
 

Advertisement

Advertisement