स्वास्थ्यमन्त्री पुगे मेडिसिटि, नेपाललाई मेडिकल टुरिजमको हब बनाउन पहल गर्दै

Advertisement

काठमाडौं । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा सम्पन्न अस्पतालको रुपमा रहेको मेडिसिटिको मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले भ्रमण गरेका छन् । 

अस्पतालको अवस्था बुझ्न उनले भ्रमण गरेको जनाइएको छ । भ्रमणका क्रममा यादवले मेडिसिटिले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका थिए । 

Advertisement

उनले अस्पतालको हेलिप्याड, आईसीयू, अपरेशन थिएटर, डायलासिस् तथा ग्यास्ट्रो विभागको अवलोकन गरेका थिए । विगत पाँच वर्षदेखि मेडिसिटिले आफूहरुले विपन्न नागरिक औषधि उपचार योजना लागू गर्दै आएको जनाउँदै यसबाट झण्डै दुई हजारले उपचार सेवा प्राप्त गरेको जानकारी दिएको छ । 

हालसम्म ३०४ जनाले मुटुसम्बन्धी उपचार तथा शल्यक्रिया गरेको यस अस्पतालमा एक हजार ५४३ जनाले क्यान्सर सम्बन्धि र १४६ जनाले डाइलासिस् सेवा लिएका छन् । 

अवलोकनको क्रममा स्वास्थ्य मन्त्री यादवले अस्पतालहरुको वर्गीकरण, मेडिकल टुरिजम तथा अस्पतालमा हुनुपर्ने सेवा सुविधाको विषयमा छलफल गरेको अस्पतालले जानकारी दिएको छ । 

हजारौं संख्यामा नेपालीहरु उपचारका लागि विदेशीनुपर्ने बाध्यताको  विषय उठान गर्दै नेपाल मेडिसिटीका अध्ययक्ष डा. उपेन्द्र महतोले नेपालका अस्पतालहरुलाई नै अन्तर्राष्ट्रियस्तरको सेवा सम्पन्न बनाउन सके नेपाल मेडिकल टुरिजमको हब बन्न सक्ने बताए । 

सोही क्रममा अस्पतालले सहजरुपमा औषधि उपलब्ध हुुनुपर्ने, औषधि निर्यातमा औषधि व्यवस्था विभागका झन्झटिला प्रक्रियालाई सहजीकरण गर्नुपर्ने, क्यान्सर रोगका लागि आवश्यक साइक्लोेट्रोन नेपालमै उत्पादन हुनुपर्ने तथा अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउन विदेशी दक्ष चिकित्सकहरुलाई पनि छोटो समयका लागि नेपालमा काम गर्ने अनुमति दिइनुपर्ने जस्ता विषयमा छलफल गरेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ । 

Advertisement

Advertisement