अमेरिकामा ‘कन्सर्ट’ गरी ललितपुरको अनाथ आश्रमलाई सवा ७ लाख सहयोग

Advertisement

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि रु सात लाख २४ हजार चार सय ८५ सहयोग उपलब्ध गराइएको छ ।  

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं थपलियाले तुलसालयका अध्यक्ष सरु सुवेदीलाई सहयोग चेकमार्फत सहयोग रकम  हस्तान्तरण गरेकी हुन् ।   

Advertisement

ललितपुरको नख्खुडोलस्थित आश्रममा आश्रित बालबालिका, ज्येष्ठ नागरिक र मानसिक रोग भएकाहरूको लालनपालन र बालबालिकाको शिक्षाका लागि क्यालिफोर्नियास्थित सञ्जालले गत अप्रिलमा नेपाली साङ्गितिक ‘कन्सर्ट’ आयोजना गरी रकम सङ्कलन गरेको थियो । 

कार्यक्रममा सञ्जालकी अध्यक्ष सेढाईंले नेपालमा विभिन्न कारणले बेसहारा बनेका अनाथ बालबालिका तथा ज्येष्ठ नागरिक, सडकमा अलपत्र परेका एवं मानसिक रोग भएकाहरूको उद्धार गरी लालनपालन र समाजमा पुनर्स्थापनाका लागि आश्रमले सहयोग गरेको बताए ।  

यस्तै, आश्रमकी अध्यक्ष सुवेदीले हाल २५ जना बालबालिका विद्यालय जाने गरेकाले उनीहरुलाई शैक्षिक सामग्रीका साथै मानसिक रोग भएकाहरुको औषधि उपचारमा सहयोग रकमको सदुपयोग गरिने बताइन् । उनले सहयोगका लागि संस्थाका तर्फबाट धन्यवाद ज्ञापनसमेत गरिन् ।   

आश्रममा हाल ३५ जना बालबालिका, ज्येष्ठ नागरिक, मानसिक रोग भएकाहरूसमेत गरी ५२ जना आश्रित रहेका छन् । 

Advertisement

Advertisement