गौतमबुद्धको ग्राउण्ड ह्याण्डलिङ निजी वायुसेवा कम्पनीलाई दिने पर्यटनमन्त्रीको योजना

Advertisement

काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने बताएका छन् । 

शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगितामा उनले हाल गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको र यसलाई निरन्तरता दिँदै अन्य अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी एयरलाईन्सहरुले पनि यस विमानस्थललाई आधार बनाएर नियमित उडान शुरु गरेमा त्यो जिम्मेवारी दिन सकिने बताए ।

Advertisement

यसका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७८ को नियम ५.२ बमोजिम प्रक्रिया शुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिए । 

यसरी निजी एयरलाईन्सहरुलाई पनि प्रतिस्पर्धा गराएर सेवा शुरु गर्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडानहरु बृद्धि गर्न सकिने उनले आशा व्यक्त गरे । 

गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु जोड्दा पर्यटन क्षेत्रमा प्रवर्द्धन पुग्ने र पर्यटन क्षेत्रलाई मुलुकको आर्थिक उपार्जनको महत्वपूर्ण र भरपर्दो क्षेत्रको रुपमा विकास गर्ने आफूहरुको सोच रहेको भन्दै सबैलाई हातेमालो गरेर अघि बढ्न मन्त्री तामाङको आग्रह छ ।

पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरुलाई उत्साहित बनाउनु पर्ने आवश्यकता रहेको भन्दै उनले अब यसमा सरकार लागि पर्ने बताए । 

विभिन्न देशका राजदूतहरुले भेटेरै नेपालमा स्वदेशी र विदेशी नागरिक एवं पर्यटकलाई हवाई भाडादेखि विभिन्न सेवा सुुविधाको मूल्य फरक फरक रहेको गुनासो गर्ने गरेको भन्दै यसलाई अन्त्य गर्नु पर्नेमा पनि मन्त्री तामाङले जोड दिए । 

Advertisement

Advertisement