काठमाडौँ । अष्ट्रेलियाले आइसिसी टि-२० विश्वकप क्रिकेटअन्तर्गत समूह ‘बी’को खेलमा इङ्ल्याण्डलाई ३६ रनले पराजित गरेको छ ।
बार्बाडसमा गएराति सम्पन्न खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै दुई सय एक रनको योगफल बनाएको थियो ।
अष्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ३९ रनको योगदान दिए । उनले १६ बलमा दुई चौका र चार छक्कासहित ३९ रन जोडेका हुन् । त्यस्तै ट्राभिस हेडले ३४ रन बनाए । उनले १८ बलमा दुई चौका र तीन छक्काको सहयोगमा ३४ रन बनाएका हुन् । कप्तान मिचेल मार्सले २५ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ३५ रन बनाए । ग्लेन म्याक्सवेले २८ तथा मार्कस स्टोइनिसले ३० रन बनाए ।
इङ्ल्याण्डका क्रिस जोर्डनले दुई विकेट लिए । दुई सय दुई रनको विजयी लक्ष्य पछाएको इङ्ल्यान्ड २० ओभरमा छ विकेट गुमाउँदै एक सय ६५ रनमा समेटियो । इङ्ल्यान्डका लागि कप्तान जोस बटलरले २८ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ४२ रनको योगदान दिए ।
त्यस्तै फिल साल्टले ३७ रन जोडे । उनले २३ बलमा चार चौका र दुई छक्का प्रहार गरे । मोइन अलीले २५, ह्यारी ब्रुकले २०, लियाम लिभिङ्गस्टोनले १५, विल ज्याक्सले १० तथा जोनी बेयरस्टो सात रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्स र एडम जाम्पाले समान दुई–दुई विकेट लिए । यससँगै अष्ट्रेलियाले दुई खेलमा चार अङ्क जोडेको छ ।
यसैबीच आइसिसी टि–२० विश्वकप–२०२४ मा वेष्टइन्डिजले युगान्डालाई एक सय ३४ रनले पराजित गर्दै जित हासिल गरेको छ ।
गुयनाको प्रोविडेन्स रङ्गशालामा आज बिहान सम्पन्न खेलमा वेष्टइन्डिजले दिएको एक सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमा समेटियो । युगान्डाका लागि जुमा मियागीले अविजित १३ रन बनाउनुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्क रन बनाउन सकेनन् ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार वेष्टइन्डिजका अकिल हुसैन एक्लैले पाँच विकेट लिएभने अल्जारी जोसेफले दुई विकेट लिए भने रोमारियो सेफर्ड, आन्द्रे रसेल र गुडाकेश मोतीले समान एक–एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ७३ रनको बनाएको थियो ।
वेस्टइन्डिजका लागि जोनसन चारल्सले ४४ रन बनाए भने आन्द्रे रसेलले अविजित ३० रन जोडे । कप्तान रोभमन पावेलले २३, सफर््यान रुदरफोर्ड र निकोलस पुरनले समान २२–२२ रन बनाए । ब्रेन्डन किङ्गले १३ रन जोडे ।
युगान्डाका लागि कप्तान ब्रायन मसाबाले दुई विकेट लिए । त्यस्तै अल्पेश रामजानी, कोस्मास क्युउटा र दिनेश नकर्नीले समान एक–एक विकेट लिए । यससँगै प्रतियोगितामा लगातार दोस्रो जित निकालेको वेस्टइन्डिजले चार अङ्क जोेडेको छ । तीन खेलमा स्पर्धा गरेको युगान्डा दुई अंकमा सीमित छ । रासस