काठमाडौं । अर्थविद् डा. चन्द्रमणि अधिकारीले अहिले नेपालको अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लबमा सोमबार बोल्दै उनले नेपाल राष्ट्र बैंकको तथ्याङ्क र सरकारमा रहेका दलहरुका नेताहरुको कुरा सुन्दा अर्थतन्त्र सुध्रिएको जस्तो देखिए पनि त्यसको प्रभाव जनताको जनजीवनमा नदेखिएको बताए ।
अधिकारीले भने, ‘अहिले हाम्रो अर्थतन्त्र अन्तरद्वन्द्वमा चलेको छ । सरकारका मान्छेहरुले र नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्यो भने अर्थतन्त्र गजब रहेछ भन्ने देखिन्छ । तर, आम नागरिक, अम जनतालाई दैनिकीमा गएर सोध्ने हो भने अर्थतन्त्र सुध्रिएको छैन । हिजो जति पैसाले बस्तु र सेवा प्राप्त भइरहेको थियो, त्यो प्राप्त भइरहेको छैन ।’
गत सालको तु्लनामा खाद्यान्नको बजार मूल्य दोब्बरसमेत भएको उनले बताए । खाद्यान्नको सन्दर्भमा बजार मूल्य २० प्रतिशत बढ्नु सामान्य जस्तै भएको अधिकारीको टिप्पणी छ । हाम्रो जस्तो अर्थतन्त्रमा कूल ग्राह्यस्थ उत्पादनमा ऋणको अंश ३५ प्रतिशत भन्दा धान्न सक्ने क्षमता नरहे पनि अहिले ४४ प्रतिशत पुगिसकेको उनले बताए ।
अधिकारीले नेपालको अर्थतन्त्रको मुटु, कलेजो कमजोर भइसकेको बताउँदै हात, पाखुरा चाहिँ बलियो भइरहेको तर्क गरे । सरकारले अर्थतन्त्रको महत्वपूर्ण पक्षहरु कमजोर भइरहेको कुरा स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको उनले बताए । अधिकारीले भने, ‘हाम्रो अर्थतन्त्र द्वन्द्वात्मक अवस्थामा छ । मुटु, कलेजो कमजोर हुँदै गएको छ, हात पाखुरा अलिकति बलियो देखिएको छ । अर्थतन्त्र राम्रो छ, गजबको छ भन्न हुँदैन ।’